कवि भूपी शेरचनको कविताहरुको संग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ मा केही कविता आधा शताब्दीपछि पनि उत्तिकै ताजा छन्। यी हरफ पढ्दा लाग्छ, हिजोको अखबारमा वर्तमान अवस्था पढेर लेखिएका हुुन्। यी कविता २०१६—२४ ताका रचिएका हुन् भन्ने लाग्दैन। नयाँ नेपालको गठबन्धन अनि गठतोडको राजनीतिक संस्कृतिकोे खोक्रोपन उदांग पार्छन्।

हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाई दिनुपर्ने
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाई दिनुपर्ने
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनु पर्ने, हिँडाउनु पर्ने

‘हामी’ कविताका उपरोक्त हरफहरु आजै लेखिएजस्तै आजैको परिस्थितिसँग ठ्याम्मै मिल्ने खालका छन्। पहिले बरू आफूले आफ्नै बलमा केही गर्न नसकेको कुरा लाजमर्दो हुन्थ्यो। यस कुरालाई भरसक लुकाउने प्रयत्न गरिन्थ्यो तर अहिले भने यस कुरालाई गर्वसाथ भनिन्। नेताहरु आफू विदेशीको निर्देशनमा चलेको कुरा प्रचार गर्न गर्व गर्छन्। विदेशी शक्ति केन्द्रले गरेको काम आफ्नो स्वार्थ अनुकुल भएमा सहयोग र प्रतिकूल भएमा देशको स्वतन्त्रता, आत्मसम्मानमा चोट भनेर डंका पिटेको कुरा आज जगजाहेर भइसकेको छ ।

विदेशी आड, भरोसा, साधन तथा स्रोतबाट सञ्चालित संघसंस्था बर्खे च्याउसरी पलाउँदै छन्। उनीहरुले गर्ने विभिन्न गोष्ठी तथा सेमिनारको बाढी लागेको छ। नेपाली जनताले आफूले आफ्नो संविधान लेख्ने भनेकोमा विदेशीहरुको अर्ति र उपदेशको ओइरो लाग्यो। यस्ता अर्ति उपदेश धेरै पालन गरिए, केहीका पालन नहुँदा जे भोगाइयो त्यो नेपाली नेताहरुको आफूखुसी केही गर्न नसक्ने कारणले भएको मान्न सकिन्छ। नेपाली नेता, बुद्धिजिवी तथा नागरिक अगुवाहरुलाई विदेशी शक्तिकेन्द्रले मिलाई दिनपर्छ, गठबन्धन ठीक नलागेमा फेरि उनीहरुले नै छुट्टयाई दिनुपर्छ । जुवामा नारिएको गोरुहरुलाई जोतेझैँ उनीहरुले नै पछाडिबाट कोर्रा लगाएर अगाडि बढाउनपर्छ।

पछिल्लो आधा शताब्दीमा नेपाल नयाँ नेपाल बन्ने क्रममा अक्षमता मेटने प्रयत्न गर्नुको साटो अझ परनिर्भरता तथा परमुखापेक्षी नेतृत्वको विकास भयो। नेपाली नेता तथा बुद्धिजिवीहरू नेपालमा दक्षिण छिमेकीको आर्शिवाद र सद्भावनाबेगर सरकार चल्न सक्दैन भनेर छाती ठोकेर भन्छन्। केही गरी दक्षिण छिमेकीको रिडोपिडो असह्य भयो भने गौरवसाथ उत्तर छिमेकी गुहार्ने त छँदैछ।

हामीले आफूखुसी कहिल्यै केही गर्न हुँदैन, अरुले नै गरी वा गराई दिनुपर्छ। हामी हाम्रा नेताका गुलाम छौँ, हाम्रा नेताहरु विदेशी शक्तिकेन्द्रका गुलाम छन्। तसर्थ कहिल्यै गुलाम नभएका हामी द्रुत गतिले गुलामीतर्फ बढ्दैछौं।

आत्मनिर्भर सामाजिक तथा आर्थिक व्यवस्थालाई अनावश्यक हस्तक्षेपले चौपट पारेर विदेशको बिउ तथा मल नभए खेती नहुने, विदेशी सामान नभए किल्किले लाग्ने अवस्थामा मुलुकलाई पुर्‍याएपछि नेपाली आमाले विदेशको निमित्त श्रमिक नजन्माएर कसरी नेपाली जन्माउछिन्? अष्ट्रेलियाको भेडा गोठालो, अमेरिकाको पेट्रोलपम्पको मजदूर, भारतका महानगरका दरवानहरु वा खाडी मुलुकका तातो मरुभूमिमा रगत पसिना चुहाउने दासहरु आज नेपाली आमाबाट पैदा हुने सन्तान हुन्। आत्मगौरव तथा आत्मसम्मानसहित दशनंग्री खियाएर आफ्नो तथा देशको उन्नति तथा प्रगति गर्ने सपूत अब नेपाली आमाले कमै जन्माउँछिन्। देशभित्रै बसे पनि हमेशा विदेशीको चाकरी गर्न लालयित हुने र यसको मौका नपाउँदा आफूलाई दुर्भाग्यशाली ठान्नेको जमातबाट नेपालको स्वतन्त्रताको रक्षा होला त?

हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं

भूपी शेरचनको ‘हामी’ कविताका थप हरफ नेपालीले भोगेका तर स्वीकार गर्न नचाहेको अर्को तितो सत्य हो। नेपालीहरु भारतका गल्लीगल्लीमा चौकीदारी गर्छन्। उनीहरुलाई बहादुर भनिने गर्दछ। वीरको पर्यायवाची बहादुर नेपालीलाई कर्णप्रिय लाग्दछ। हामी मख्ख पर्दछौँ, विदेशीले हामीलाई वीर भन्छ भनेर। हामी वीर हौं वीरका सन्तान हौं तर हाम्रो बहादूरी आफ्ना निमित्त भएन। हाम्रो बहादुरीको उपभोग स्वदेशले गर्न पाउँदैन। म्यानमा (बर्मा) मा बसेका नेपालीलाई नेपाल फर्काउने, आसाम तथा भाक्सुबाट नेपालीलाई मातृभूमि फर्काउने राजा महेन्द्रको नाम लिनु पनि आज कसैकसैको निमित्त असह्य हुन्छ। उनले गरेका कामले भएको फाइदा लिन सबै तंँछाडमछाड गर्दछन् तर त्यसमा उनको नाम भने अपच हुन्छ। किनभने हाम्रा नेता तथा अगुवाहरुले हामीलाई त्यही सिकाएका छन्, त्यही पढाएका छन्। हामीले आफूखुसी कहिल्यै केही गर्न हुँदैन, अरुले नै गरी वा गराई दिनुपर्छ। हामी हाम्रा नेताका गुलाम छौँ, हाम्रा नेताहरु विदेशी शक्तिकेन्द्रका गुलाम छन्। तसर्थ कहिल्यै गुलाम नभएका हामी द्रुत गतिले गुलामीतर्फ बढ्दैछौं।

फुरुक्क पार्न हामीलाई सर्वशक्तिमान भनिन्छ। सबै काम हाम्रा नाममा गरिन्छ। हाम्रो मर्जी होइन केवल नाम चाहिएको छ हाम्रा नेताहरुलाई, उनीहरु मुखले मान दिएर कामले मानमर्दन गर्छन्। अझ हामीबाट अस्वीकृतहरु नै हामीमाथि राज गर्दछन्। त्यसैले होला, भूपी शेरचन ‘म’ शीर्षक कवितामा जनतालाई परिभाषित गर्दछन्।

वस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ

सबै अन्याय जनताले चुपचाप सहनु परेको छ, किनभने नेपालीमा एउटा उक्ति छ, राजा देख्दैनन्, देउता बोल्दैनन्। राजा त नेता तथा बुद्धिजिवीहरुले हटाई सके, देउतालाई पनि समय अनुसार चल्न उर्दी जारी गरिसके। तसर्थ नेपालले लोकतन्त्र वा प्रजातन्त्रको नयाँ परिभाषा विश्वलाई दिँदैछ। टाठाबाठाले टाठाबाठाको निमित्त जनताको नाममा जनतामाथि शासन गर्ने पद्धतिको नाम हो नयाँ नेपालको लोकतान्त्रिक संघीय गणतन्त्र। हिम्मत भए यसलाई चुनौती दिँदा हुन्छ नत्र भने गुलामी नयाँ नेपालका नेपालीको भाग्य हो।

मंसिर २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्