नेपालगन्जको बीच बजारमा लुकेको ‘घँसियार’ टोलमा टपरी बुन्दै स्थानीय। तस्बिर: देशसञ्चार।

नेपालगन्ज- पानी पर्न नसकेर धुम्म परेको नेपालगन्जको आकाश। साँघुरो गल्ली अनि केटाकेटीहरुको कोलाहल। चुनावी ‘ध्वजा पतंगा’हरुले वस्तीलाई केही झिलिमिली बनाएको थियो, नत्र मुख्य बजारको बीचमा साँघुरिएको त्यो वस्ती ‘टुकी’को उज्यालोमा मात्रै मधुर हुन्छ।

यो नेपालगन्जको बीच बजारमा लुकेको एउटा ‘घँसियार’ टोल हो। कुनै जमाना थियो, नेपालगन्ज ‘टाँगाको सहर’ भनेर चिनिन्थ्यो। ई–रिक्साको ‘क्रान्ति’ले टाँगालाई इतिहास बनायो। त्यही टाँगा खिच्ने घोडाहरुको लागि घाँस चाहिन्थ्यो र, त्यो घाँस त्यही टोलमा पाइन्थ्यो। पुस्तौँदेखि घाँस बेचेर, काटेर गुजारा गर्ने त्यो जातिलाई घँसियार नै भनियो, अनि नेपालगन्जको एउटा कुनामा बाक्लिएको त्यो वस्ती नै ‘घँसियार’ टोल भयो।

आज त्यो इतिहास भएको छ। टाँगा छैन, घाँस छैन। अनि घँसियारको ‘गाँस’ पनि हराएको छ। यतिबेला चुनावी मौनता छ। चुनावी प्रचार–प्रसार छैन, होहल्ला छैन। दलहरु सबै शान्त भएका छन्। तर, भित्रभित्र उम्मेदवारहरु अनि कार्यर्ताहरु अब अन्तिम ‘कसरत’मा छन्।
घँसियार टोलको त्यो साँघुरो गल्लीमा भगवती केमड(घँसियार) सालको पात मिलाउँदै थिइन्। एकसुरले पातहरु मिलाइरहेकी उनी, क्यामेराको ‘क्लिक’पछि केही बिच्किइन्, अनि सम्हालिन खोजिन्। उनले मिलाएका पातहरु असरल्ल भए।

‘घाँस छैन, भएपनि अब त्यसको काम छैन अनि पात टिपेर दुना टपरी बनाउँछौँ,’ उनी भन्दै थिइन् ‘चुनाव लागेर के भो, हाम्रो गाँस चुनावले टार्छ र?’ नेपालगन्जका टाँगासँगै घाँसको किस्सा सकिएपछि अब उनीहरुले पेशा फेर्न थालेका छन। भगवती पनि दिनभरि पात टिप्न जान्छिन्, साँझपख त्यसलाई सम्हाछिन् अनि राति पात गाँसेर दुना टपरी बनाउँछिन्। नेपालगन्जका सडकमा सबैभन्दा बढी बिक्री हुने, चाट, समोसा अनि त्यस्तै ‘फास्ट’ फुडका आइटम त्यही दुना टपरीमा बिक्छन्। तर, फेरि बजारमा अहिले भित्रिएको ‘फाइबर’ले त्यसको दायरा फेरि खुम्च्याउन थालेको छ। भगवतीजस्ता त्यो टोलका सबैजना पूरै गरिबीको रेखामुनि छन्, केही न केही दिनभरि केही काम भेटिएन भने साँझ बिहान चुल्हो बल्दैन।

‘नेताहरु भोट माग्न त आए होलान् त? भोट हाल्न नजाने?’ नेपाली भाषामा कम्ती घँसियार केही बेर अक्मक्किए । फेरि भन्नुस् त, भन्ने इसारामा कान नजिकै थापे। प्रश्न पूरै दोहोरिन नपाउँदै उनले जवाफ फर्काए, ‘उनीहरु भोट माग्छन्, हामी घाँस माग्छौँ, फेरि यी सहरमा टाँगाहरु दौडियून् अनि हाम्रो पेट पालिन्छ।’ अरु नबुझे पनि सायद उनले ‘चुनाव’ र ‘भोट’ भनेको बुझेछन्। ‘जति भोट दिए नि हाम्लाई केही भएन, यी वस्ती यस्तै छन्, झन् अहिले हाम्रो गाँस नै खोसिएको छ ।’

यो वस्तीलाई कुनै पनि चुनाव–सुनावको मतलव छैन, को चुनाव लडेको छ, कसलाई भोट हाल्ने केही वास्ता छैन। बस् बिहानदेखि साँझसम्म मात्रै छाकको ‘टेन्सन’। जुनसुकै दल वा उम्मेवार त्यहाँ भोट माग्न जाऊन्, सबैलाई उनीहरुलाई भनेका छन् ‘घाँस देऊ अनि भोट लैजाऊ।’

यही सेन्टिमेन्टलाई तान्नका लागि यहाँ चुनाव लड्ने राजनीतिक दलहरुका उम्मेदवारहरुले आफ्नो चुनावी आश्वासनको चाङमा एउटा वाक्य भने मिसाएका छन् ‘नेपालगन्जलाई पर्यटकीय ट्रान्जिट’ बनाउने। विश्वप्रसिद्ध धार्मिक धाम कैलाश मानसरोबरको एउटा महत्वपूर्ण रुट हो ‘नेपालगन्ज–हुम्ला’ अनि खप्तडलगायत मध्यसूदूरमा रहेका धेरै पर्यटकीय क्षेत्रमा पुग्नका लागि नेपालगन्ज छुनैपर्छ। र, उनीहरुको दाउ छ, ती पर्यटकलाई केही दिन नेपालगन्जमा ‘होल्ड’ गर्ने। त्यसका लागि यहाँ बनाइएका अनेकन योजनाहरुमध्ये एउटा हो, टाँगाको रुप परिवर्तन। त्यो टाँगा अब ‘बग्गी’ बन्नेछ, पर्यटक बसाएर घुमाउने। र, यी घँसियारहरुको आशा छ, त्यसलाई तान्ने घोंडालाई फेरि घाँस काट्न पाइने छ अनि ‘गाँस’ फेरि जोडिने छ।

मंसिर २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्