‘खुट्टा त गुम्यो, सपना गुमेको छैन’

टिचिङ अस्पतालमा उपचाररत मीरा कटुवाल हँसिलो मुद्रामा। तस्बिर: दीपा दाहाल।

उदयपुर विस्फोटमा परेकी मीरा कटुवालको साहस

काठमाडौँ- प्रायःमानिस जीवनमा अकल्पनीय घटना भएमा त्यसका लागि आफ्ना लक्ष्य र उद्देश्यलाई दोषी ठान्दै त्यसबाट टाढिन चाहन्छन्। ससांरमा यस्ता मानिस पनि भेटिन्छन् जो आफूमाथि अकल्पनीय दुर्घटना निम्तिए पनि पूर्ववत लक्ष्य र उद्देश्य प्राप्तिमा डगमगाउँदैनन्। यस्तै एउटा पात्र उदयपुर गढी गाउँपालिका– १ कि मीरा कटुवाल। समाज र देशलाई समृद्धिमा पुर्‍याउन आफू पनि हिस्सेदार बन्ने उद्देश्यसहित राजनीतिमा होमिएका कारण उनले अकल्पनीय शारीरिक आघात व्यहोर्नु परेको छ।

मंसिर १३ मा मंसिरमा उदयपुरको कटारी बजारमा भएको बम विस्फोटमा परेर आफ्नो देब्रे खुट्टा सदाका लागि गुमाएकी छिन्। त्यसले उनलाई भौतिक चोट मात्रै दिएको छैन, मन र मस्तिष्कलाई पनि नराम्ररी हल्लाएको छ। तर, उनलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुग्नेहरु आफैँ चकित परेर फर्कन्छन्, उनको मुहारमा झल्किने आत्मविश्वास तथा ओजपूर्ण बोली र दृढता देखेर। प्रायः उनलाई भेट्नेहरुले ‘कति ठूलो चोट पर्‍यो है’ भन्दै करुणा देखाउँछन्। उनको जवाफ आउँछ– खुट्टा त गुमेको हो, मन गुमेको छैन नि।’

उल्टो शुभचिन्तकलाई सम्झाउँदै पठाउँछिन्, ‘राजनीतिमा लागेर मलाई यस्तो भए पनि सबै जना धैर्य र सन्तोषसाथ बस्नुहोला। उनलाई राजनीतिमा लागेकोमा कुनै पछुतो वा पीडा छैन।’

उनी भन्छिन्, ‘घाँस काट्न जाँदा भिरबाट लडेको भए वा अरु कुनै कारणले दुर्घटनामा परेको भए पो त पछुतो हुन्थ्यो । राजनीतिमा नलागेको भए मलाई हेलिकप्टरमा उद्धार गरेर उपचारका लागि यहाँ ल्याइँदैन थियो होला। मैले केही गरेको रहेछु र त मलाई बचाइयो।’

पुरै देश चुनावमय भएका बेला उदयपुर पनि अछुतो थिएन। राजनीतिक दलका उम्मेदवारहरु कार्यकर्ता र समर्थकसाथ तीव्र गतिमा प्रचारप्रसार गरिरहेका थिए। कटारीमा पूर्वघोषित आमसभामा सहभागी हुन उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्कीसहितको टोली जीपमा जाँदै थियो। त्यही टोलीमा थिइन मीरा पनि। कार्यक्रमस्थल पुग्नै लाग्दा उनीहरु चढेको गाडीमा सडकमा थापिएको एम्बुसमा पर्‍यो र करिव १० मिटर माथि पुगेर भुइँमा बजारियो।

अस्पतालको शैय्यामा मीरा कटुवाल। तस्बिर: दीपा दाहाल

मीरा कार्की र गाडी चालकको बीचमा थिच्चिएकी उनले गुहार मागिन्। त्यतिबेलासम्म उनको खुट्टा रगताम्मे भइसकेको थियो। तत्कालै उनीसहित अन्य घाइतेलाई उद्धार गरेर उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल ल्याइएको थियो।
उम्मेदवार कार्की सोही अस्पतालको आइसियुमा उपचारार्थ छन् । मिरालाई यतिबेला आफ्नो भन्दा बढी चिन्ता कार्की र अन्य घाइतेको लागिरेहको छ। ‘नारायणबुवाको जित सुनिश्चित थियो। त्यही देखेर विरोधीहरुले ज्यान समेत मार्ने प्रयास गरेका छन्,’ जोशिलो हुँदै उनले भनिन्, ‘तर यस घटनाबाट हामी र जनता त्रसित हुने छैनौँ। किनकि हामी प्रजातन्त्र र स्वतन्त्रताका लागि लड्दै आएको छौँ र जीवन रहेसम्म लडिरहन्छौं।’

मीरा विकट गाउँमा जन्मिए पनि छोरीमाथि व्याप्त सामाजिक विभेद देखेर उनको मन बाल्यकालदेखि नै पोल्थ्यो । त्यस्ता सामाजिक विभेदविरुद्ध राजनीति गर्नुपर्छ भन्ने चेत उनमा स्कुले जीवनमै पलाएको थियो। उच्च शिक्षाका लागि कटारी बजार झरेपछि उनमा बढ्दै गएको राजनीति चेतना मुखरित भयो। नेविसंघका पूर्व जिल्ला सभापति अशोक श्रेष्ठको प्रेरणाबाट उनले राजनीतिमा औपचारिक पाइला टेकेकी थिइन्। निष्ठा र जुझारुपनले छोटो समयमै उनी पनि नेविसंघको जिल्ला सभापति बन्न सफल भएकी थिइन्।

अस्पतालको शैय्यामा उपचाररत मीरा कटुवाल। तस्बिर: दीपा दाहाल।

जेठी छोरी उनीमाथि कटुवाल परिवारको भरोसा त छ नै, समाजमा केही राम्रो गरेरे आफूसँगै पूरै परिवारको शिर उचो बनाउने विश्वाससमेत छ उनीसँग । यति ठूलो घटना भए पनि कटुवाल परिवारको मिरामाथिको विश्वास र भरोसामा कमी आएको छैन। ‘छोरीको यस्तो पीडामा दुःख त लागिहाल्छ तर सबैले छोरीलाई माया र सम्मान गरेको देख्दा ती सबै चोटहरु बिर्सन पुग्छु,’ मीराकी आमा खीलाले आफूमाथि परेको चोट लुकाउने प्रयास गर्दै भनिन् ‘अझै पनि छोरीले केही गर्न सक्छे भन्ने विश्वास छ।’
मीरामा प्रस्ट देखिने राजनीतिक सुझबुझ र विचारले परिवारले उनीमाथि गरेको विश्वास स्वभाविक पनि लाग्छ । र, निर्वाचनलाई असफल बनाउने उद्देश्यसहित भएका हिंसामात्क घटनाले लोकतन्त्रलाई कमजोर बनाउन नसक्ने उनको निष्कर्ष छ । ‘तर्साएर वा लुकेर कसैका ज्यान लिन खोज्नु कार्यरतापूर्ण काम हो र त्यसले उनीहरुलाई जित मिल्दैन’, उनले निर्भीक स्वरमा भनिन्, ‘हिंसा र भयले लोकतन्त्रलाई कमजोर बनाउँदैन ।’

खीलाले आफूले पढ्न नपाउँदा पाएको दुःख छोरीले नपाउन् भनेर मीरालाई बाल्यकालदेखि नै पढ्ने र स्वतन्त्र हुने वातावरण मिलाइदिएकी थिइन्। त्यसले मीराको आत्मविश्वास बलियो बनेको थियो। स्नात्तक उत्तीर्ण मीराको राजनीति र बाँकी शिक्षा सँगसँगै लग्ने योजना थियो। अब त्यो योजनाले निरन्तरता पाउँछ या पाउँदैन भन्नेमा उनका शुभचिन्तकमा संशय छ। उनी भने यो दुर्घटनाका कारण आफ्नो योजना साकार नहुनेमा कुनै बाधा देख्दिनन्, ‘यो घटनाबाट म कत्ति पनि विचलित छैन। मेरा उद्देश्य र लक्ष्यहरु थप प्रस्ट र सुदृढ भएका छन्। खुट्टा गुमे पनि सपना गुमेको छैन।’

मंसिर २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्