विहिबारको मतदानका लागि मतदानस्थल तयार गरिँदै । तस्बिर: देश सञ्‍चार

झापा-झापा अर्जुनधारा वडा नं ६ निवासी दुर्गा ओली मंसिर २१ गते विहिबार मतदान गर्नका लागि तयार छन् । उनी एकजना मजदुर हुन् । तर उनलाई परम्परागत तरिकाको निर्वाचनको मात्र ज्ञान छ । उनका अनुसार केन्द्रमा कुन कुन पार्टी जाने हुन्, कसले सरकार बनाउँछ भन्ने कुराको मात्र हेक्का छ।

नेपालमा पहिलो पटक हुन लागेको प्रदेश सभाको निर्वाचनका बारेमा उनले अनभिज्ञता प्रकट गरे । उनले प्रदेश के हो, कसरी गठन हुन्छ भन्ने बारेमा आफूलाई केही पनि थाह नभएको बताए । ओलीले भने, ‘पार्टीका केही मान्छे जो नेताका अघिपछि हिँड्छन् तिनीहरुलाई थाह होला प्रदेशका बारेमा । तर मलाई चाहीँ कालो अक्षर भैंसी बराबर जस्तै छ । केही नै थाह छैन ।’

उनका छिमेकीहरुलाई समेत प्रदेश सभाका बारेमा थाह नभएको उनको भनाइ छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मिलनचोकका मतदाता अनिल सुवेदीको भनाइमा दलहरुको ध्यान प्रदेशमा नभएर केन्द्रमै भएका कारण प्रदेश सरकार कसरी बन्छ, के के गर्छ भनेर जनतालाई जानकारी नगराएका हुन् । उनले भने, ‘दलहरुले प्रदेश सभालाई ध्यान दिएका छैनन् । उनले कतै प्रदेश सरकार नाम मात्रको सरकार हुने हो कि भन्ने आशंका व्यक्त गरे।

प्रतिनिधि सभा निर्वाचनले जति चर्चा पायो तर नेपालमा पहिलो पटक हुन लागेको प्रदेश सभाको निर्वाचनले त्यति चर्चा पाउन नसकेको विज्ञहरुले समेत बताएका छन् । संघीय संरचना अनुसार तीन तहको सरकारमा प्रादेशिक सरकार मध्यस्तरको सरकार भए पनि नेपालका राजनीतिक दलहरुमा संघीय मानसिकता अझै आउन नसकेका कारण प्रदेश सभा निर्वाचनको चर्चा कम भएको उनीहरुको भनाइ छ ।

एकजना राजनीति शास्त्री प्राध्यापक कृष्ण खनालका अनुसार दुईवटै निर्वाचन एकै पटक हुने भएकाले पनि प्रदेश सभा निर्वाचनले महत्व नपाएको हो । उनले भने, ‘चुनाव भएपछि केन्द्रमा कसले सरकार बनाउने, प्रधानमन्त्री को हुने, सभामुख को हुने भन्ने कुरा मात्र प्राथमिक्तामा पर्यो । प्रदेशका बारेमा दलहरुले महत्व दिएकै छैनन् ।’

संविधानको कार्यान्वयनका लागि भनेर प्रदेश सभाको चुनाव गराइएको भए पनि दलका नेताहरुको दिमागमा संघीयताको मानसिकता अझै पस्न नसकेको उनले बताए । खनालले भने, ‘हाम्रा राजनीतिक दलमा संघीय मानसकिता अझै आएकै छैन । संघीय संस्कार र संघीय व्यवहार त परको कुरा हो।’

देशभरबाट ३ सय ३० जना प्रत्यक्ष निर्वाचनबाट र २ सय २० जना समानुपातिक निर्वाचन प्रणालीबाट गरेर जम्मा ५ सय ५० जना प्रदेश सभासद निर्वाचित हुँदैछन् । नेपालमा अहिलेसम्म अभ्यास नै नभएको ७ वटा प्रादेशिक सरकारमा यिनै सभासदमध्येबाट सामेल हुनेछन्। त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्रका सह प्राध्यापक भीम सुब्बा भन्छन्,‘प्रदेश सरकार कसरी बन्छ भन्‍ने विषय धेरै मतदाताले बुझेका छैनन् ।’

मंसिर २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्