ठमेलको साँघुराे कोठाको विस्तारित यात्रा

श्रद्धाञ्जली सुरेन्द्र शाही

‘सुरेन्द्र’ज थाङ्का’ जीवन्त ठमेलको एउटा साँघुरो पसल रहिआएको छ, विगत ३५ वर्षदेखि। त्यो साँघुरो देखिनुका अनेक कारण छन्। पहिलो, थाङ्काहरुको संख्या बढ्दै जानु। दोस्रो, ग्राहकहरुको संख्या अटूटरुपमा बढ्दै जानु। र, तेस्रो त्यो पसलका सृष्टिकर्ता सुरेन्द्र शाहीको हँसिलो तथा आतिथ्यपूर्ण व्यवहार जसले ‘कस्टमर’हरुलाई र सामग्री आपूर्तिकर्तालाई एउटै सामाजिक परिवेशमा भित्र्यायो र त्यो सँगसँगै उनीहरुबीचको व्यापारिक उत्पादन र आर्थिक सम्बन्ध गहिरो बनाउँदै गयो।

गत साता नोभेम्बर ३० का दिन हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उनको बाँच्ने इच्छा र दुई बर्षको उपचारका क्रममा उनले देखाएको सहिष्णुता र साहसले उनको पार्थीव शरिरवाट बिदा लिए। भोलिपल्ट पवित्र विष्णुमतीको किनारमा अवस्थित इन्द्रायणी मन्दिरअगाडिको घाटमा कुलको परम्पराअनुसार उनको अन्त्येष्टि सम्पन्न भयो, विशाल सामाजिक वृत्त, विस्तृत परिवारका सदस्यहरु, आफन्त र थाङ्का उद्योगका सहकारीहरुको उपस्थितिमा। उनका हरेक संघर्षमा, अनि सम्बृद्धिमा एकनाशसँग विस्तृत परिवारको मोर्चा सम्हाल्दै आएकी धर्मपत्नी मीना शाही, घाटमा सुरेन्द्र शाहीको पार्थीव शरीरअगाडि त्यत्तिकै साहस र धैर्यका साथ आगन्तुकहरुको समवेदना स्वीकार गरिरहिन्, जसरी उनले नरदेवीस्थित विस्तारित परिवार सञ्चालन र रेखदेखको नेतृत्व हाँक्दै आएकी छन्, विगत चार दशकदेखि।

परिवारले चलाउँदै आएको ‘ग्रोसरी’ पसलमा सानैदेखि जाने गरे पनि सुरेन्द्रमा केही फरक गर्ने सोच र पर्याप्त जाँगर स्कूलदेखि नै थियो । सामान्य थाङ्का व्यापारमा उनी मिसिए, कारिगरहरु खोजे र हनुमानढोका अगाडि एउटा सानो पसल खोले १४ वर्षको उमेरमा। पिता जगतबहादुर शाही र आमा राममाया शाहीलाई उनी प्रेरणास्रोत मान्थे। करिव ११ वर्षअघि आमाको निधनपछि पिताको हेरचारमा बढी समय बिताउन थालेका थिए उनले। ८९ वर्षको हुँदासम्म पिता मोटरसाइकलमा घुमफिर गर्थै। हरेक रात जति अबेर भए पनि घर पस्नेबित्तिकै पितालाई भेटेर मात्र आफ्नो कोठातिर लाग्नु नियमित र अनुशासित ‘रुटिन’ थियो सुरेन्द्र शाहीको।

केही समयअघि एकदिनको अनुभव यसरी सुनाएका थिए शाहीले। एकरात उनी अबेरगरी घर फर्किए। अलि बढी पिएकाले बुवालाई भेट्ने हिम्मत गरेनन्। सधैँको रुटिन तोडे। ‘भोलिपल्ट बिहान बुवाले बोलाउनुभयो र राति नआउनुको कारण सोध्नुभयो,’ सुरेन्द्रले स्मरण गरे। कीर्तिपुरमा एउटा रेस्टुरेन्टमा गई अलि बढी पिएपछि आउन डर लागेर नआएको बताएपछि बुवाले सोध्नुभयो, पक्का हो? हो भनेपछि बुवाले भन्नुभयो, अर्कोपल्ट मलाई पनि लिएर जानू। आत्मीय सम्बन्धको त्यो शैलीलाई शाहीले आफूभन्दा मुनिकाहरुसमक्ष त्यसरी नै पस्किन्थे।

पाँच वर्षअघि उनले पिता गुमाए र घरको मूली आफैं बने। दुर्भाग्य, त्यसको तीन वर्षपछि उनी स्वयं ‘क्यान्सर’बाट संक्रमित भएको डाक्टरले पुष्टि गरे। दिल्ली, सिंगापुर र नेपाल क्यान्सर अस्पतालको उपचारले कति बढी बचायो, अपेक्षित आयुभन्दा बढी, अनुमानमात्र गर्न सकिन्छ।

क्यान्सरसँगको युद्धमा अहिले विजेता देखिएकी बलिउड अभिनेत्रीसँगै अभियन्ता बनेकी मनीषा कोइराला अस्पताल पुगेर एउटा नोट पठाइन् शाहीलाई, अस्पतालबाट निस्केपछि क्यान्सरबिरुद्धको अभियानमा संलग्न हुन। उनी उत्साहित बनेका थिए रे, तर नियतिलाई त्यो स्वीकार्य भएन।

उनले ४४ वर्षअघि सुरु गरेको व्यापार अहिले झ्यांगिएको छ। १६ वर्ष कान्छा भाइ वीरेन्द्र शाही र ३४ वर्षअघि व्यापारिक सिलसिलामा भेट भएका तर एकै परिवारका सदस्य बन्न पुगेका प्रदीप राजभण्डारी र लण्डनको एउटा विश्वविद्यालयबाट एमबीए गरी व्यापारलाई आधुनिकीकरण गर्ने अठोटका साथ स्वदेश फर्केका छोरा डेकेन शाही र उनका तीनजना दिदीबहिनीले नेपालबाहिर पनि फैलाउन सफल भएका छन्, चीन, युरोप र अमेरिकामा।

‘पहिले करिब ४ सय कारिगरहरुको नेटवर्क’ बाट थाङ्का बुनाइ र आपूर्ति हुने गरेकामा अहिले त्यो संख्या घटेर आधाजति बन्न पुगेको छ। प्रतिष्पर्धामा विस्तार, बीचमा द्वन्द्वले पर्यटनमा पारेको असर एकातिर र यता आएर कारिगरहरुको विदेश पलायनले यो समस्या उत्पन्न भएको वीरेन बताउँछन्। त्यस्तै, राजधानीका केही गुम्बाहरुले ठूलो रकम बक्यौता चुक्ता नगरेकाले पनि शाहीमाथि यदाकदा आर्थिक बोझ बढेको जानकारहरु बताउँछन्।

आधुनिकीकरण र बाह्य लगानीका उद्योगले नेपालको संस्कृति, प्रविधि र आर्किटेक्ट प्रायः गिर्दो अवस्थामा छन्। कारिगरहरुको रोजीरोटीसमेत त्यो मन्दीमा मारियो।

त्यस अर्थमा सुरेन्द्र शाहीले थाङ्का कला, संस्कृति र मौलिकतालाई जोगाउने केही कारिगरहरुलाई सम्मानित रुपमा अल्झाइराखे, केहीको आर्थिक निर्भरता सुनिश्चित हुनेगरी।

१० कक्षामात्र पढे पनि व्यापारकै क्रममा उनले मातृभाषा नेवारी, नेपाली, तिब्बती, चिनियाँ, अंग्रेजी र केही मात्रामा जर्मन भाषासमेत बोल्ने गर्थे। भाषाको त्यो सिप र अभिव्यक्तिबाट उनले व्यापक मित्रता र सद्भाव बटुले जुन व्यापारमा सहयोगी पनि बन्यो। उनका निधनले कला, संस्कृति र मौलिक व्यापारको एक लुकेका अग्रणी मुलुकले गुमाएको छ।

मंसिर २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्