सार्वभौम विवेक

निर्वाचन प्रजातन्त्रको साझा महोत्सव हो। सबै जातजाति, भाषा-भाषी, क्षेत्र-लिङ्ग र वर्ग तथा आस्था बोकेका नेपालीको साझा महोत्सव हो यो। साँचो अर्थमा पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तीस वर्णको साझा फूलवारी भने जस्तै त्‍यो फूलबारीको साझा चाड हो यो र १ करोड ५४ लाख नेपाली मतदाता त्‍यो महोत्सवमा सहभागी हुन प्रतीक्षारत छन्, आज यस समय।

तर, मुख्य दल तिनका नेतृत्व र भयरहित वातावरणमा निर्वाचन सम्‍पन्‍न गराउने संवैधानिक दायित्व बोकेको निर्वाचन आयोगले बुझ्‍नु आवश्‍यक छ कि जनतामा आफ्नो दायित्वबोधकै कारण निर्वाचनलाई महोत्सवकै रुपमा लिएका छन्, उनीहरुले। श्रृंखलावद्ध बम विस्फोट, एक म्‍यादी प्रहरीको मृत्यु , केही उम्‍मेदवार घाइते र निर्वाचनका समयमा डर, त्रासको वातावरण व्‍याप्‍त रहनुले निर्वाचन आयोगको मौलिक औचित्यमाथि  प्रश्‍न उठाउने ठाउँ दिनेछ, निर्वाचन र नतिजा घोषित भइसकेपछि पनि।

नेपालको सन्दर्भमा निर्वाचनले राजनीतिक स्थायित्व र वर्तमान संविधानलाई स्थापित गर्ने अडान लिएका छन्,  तीन ठूला दलका नेताहरुले। त्‍यो दाबी गर्दैगर्दा उनीहरुले संविधान राज्‍य सञ्‍चालनलाई वैधानिकता दिने र निर्देशन गर्ने अनि सबै कानूनहरुको स्रोत हो भन्‍ने तथ्‍य स्वीकार नगरेको तितो सत्‍य सचेत नेपालीले बुझेका छन्।

संविधान निर्माणमा पर्याप्‍त बहस र मान्‍य प्रक्रिया नअपनाइएको हुँदा त्‍यसबारे साझा धारणा, मान्‍यता र सरोकार स्थापित हुन नसकेको अवस्था अहिले पनि छ। त्‍यति हुँदाहुँदै र शान्ति सुरक्षाको यो फितलो अवस्था पनि जनता आफ्नो अभिमत व्‍यक्त गर्न प्रतीक्षारत छन्।

जनताको हातमा रहेको तालाचाबी  र सार्वभौम तथा निर्णायक हैसियतको प्रयोगबाट यो मुलुकको भाग्‍य निर्माण हुन्छ। जनता मुलुकको अखण्डता जस्तै सार्वभौम हुन्छन्।

सचेत नागरिक र प्रजातान्त्रिक अभ्‍यासमा सक्रिय सहभागिता राष्ट्रप्रतिको उनीहरुको जिम्‍मेवारीबोधको प्रमाण हो। सक्रिय र सचेत जनताले नेता राष्ट्रिय दायित्वप्रति उदासीन देखिए हस्तक्षेप गर्ने गर्दछन्। मुलुकमा व्‍याप्‍त राजनीतिक अस्थिरताले आर्थिक पछौटेपन तथा विकासका अवसर गुम्‍दै गरेका प्रवृत्तिलाई निन्तरता दिएका छन्। यो निर्वाचन नेतृत्व र शासकको विगतको असफलताको अनुमोदन नभएर भावी सत्ता र ठूला दललाई खबरदारी पनि हो कि शासनमा बस्‍नेहरु उनीहरुको निरन्तर निगरानी र खबरदारीमा छन्।

नेपाली मतदाता सदा स्वतन्त्र रहेको नेपालको अक्षुण्ण अस्तित्वमा आफ्‍नो अस्तित्‍व देख्छन्। प्रजातन्त्रमा निर्वाचित सत्ता, संसदप्रति उत्तरदायी र मुलुकको अस्तित्वप्रति बफादार रहने अपेक्षा गरिन्छ। किनकि जनताको हातमा रहेको तालाचाबी  र सार्वभौम तथा निर्णायक हैसियतको प्रयोगबाट यो मुलुकको भाग्‍य निर्माण हुन्छ।

जनता मुलुकको अखण्डता जस्तै सार्वभौम हुन्छन्। त्‍यसैले त्‍यो हैसियतको विवेकसम्‍मत प्रयोगले नै भोलिको राजनीतिक अवस्था, व्‍यवस्था र आर्थिक समृद्धिको बाटो कोर्नेछ। त्‍यसको सन्देशलाई सकारात्मक रुपमा नेताहरुले बुझ्‍नैपर्छ। राष्ट्र, राष्ट्रियता र प्रतातन्त्रको रुपमा भावी कदमहरु चाल्‍न उनीहरु अगाडि आउनु पर्छ नै।

मंसिर २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्