
काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर १० की मतदाता बेन्जु खड्कालाई आफ्नो क्षेत्र कुन हो भन्ने नै थाहा छैन। उनी कुनै चुनावी कार्यक्रममा पनि गइनन्। घरमा बसेर टेलिभिजन र पत्रपत्रिकाबाट पाएको सूचनाको आधारमा उम्मेदवारबारे जानकारी लिएकी छन्। त्यसैको आधारमा मतदान गर्दैछिन्। भन्छिन्, ‘पुरानाले काम गरेको र नगरेको थाहा छँदै छ, जसले राम्रो गर्छ जस्तो लाग्छ उसैलाई दिन्छु ।’
खड्कालाई राजनीतिमा कुनै रुचि छैन। नेताहरुको नाम पनि थाहा छैन। मान्छे देख्दा कुनै कुनै नेताचाहिँ चिन्छिन्।
काठमाडौं क्षेत्र नम्बर चारकी मतदाता पुनम विष्टलाई पनि चुनावले कुनै असर गरेको छैन। भन्छिन्, ‘बिन्दास घरमा बसेको छु, एउटालाई भोट दिने हो, जो राम्रो लाग्छ त्यसैलाई दिन्छु।’

बिहीबार मतदानस्थल पुगेपछि उम्मेदवारका विषयमा छरछिमेकका साथीसँग सल्लाह गर्ने योजनामा छिन् उनी। घरदैलो कार्यक्रममा आएका उम्मेदवारले ‘गेटभित्र फ्याँकिदिएको’ घोषणापत्र पढेकी छन्। त्यसबाट कसले कस्तो काम गर्न सक्छभन्ने आँकलन गरेकी छन्। तै पनि उनको निर्णय भोलि मतदानस्थलको माहोलले निर्धारण गर्छ। भन्छिन्, ‘राजनीतिको बारेमा र पनि थाहा छैन, साथीहरुले के भन्छन्, त्यही विचार गरेर भोट दिनुपर्ला।’
सावित्रा ठकुुरीलाई चाहिँ हल्का चुनाव लागिरहेको छ। हाँडिगाउँ निवासी ठकुरी बिहीबार बिहान मतदान गर्न टोखा कसरी पुग्ने भन्ने चिन्तामा छिन्। भन्छिन्, ‘गाडी चल्दैन, कसरी पो जाने हो ।’ चुनावअघि यसो बाहिरफेर घुमेर माहोल बुझेकी छन्। पहिलेदेखि राजनीतिक पार्टीप्रति आस्था राखेकी छन्। आफ्नै पार्टीको उम्मेदवारलाई मत दिने बताउँछिन्। तर, नेतामाथि उनको विश्वास भने एकदमै कम छ।

क्षेत्र नम्बर पाँचकी मतदाता ठकुरी भन्छिन्, ‘नेतालाई चिन्न गाह्रै छ, अहिले बोलेको कुनै पनि कुरा पुरा गर्दैनन्, थाहा हुँदाहुँदै पनि पाएको अधिकार किन खेर फाल्ने जस्तो लागेर भोट हाल्छु।’ कोही गतिलो नेता नदेख्दा कहिलेकाहीँ त उनलाई मतदान गर्ने चाहना पनि हुँदैन। भोलि राम्रा काम गर्लान् नगर्लान् भन्ने चिन्ता नेताहरुकै हातमा छोडेर आफ्नो मताधिकार मात्र प्रयोग गर्ने बताइन्। काठमाडौँको खाल्डाखुल्डी बाटोले दिक्क बनाएका लाखौँमध्ये उनी पनि एक हुन्। बाटोघाटो बनाउनुको साथै अबको नेतृत्वले पीडित महिलाहरुका लागि केही गरोस् भन्ने उनको चाहना छ। क्षमता भएर पनि घर भित्रै थन्किएका महिलालाई रोजगारीको लागि बाहिर निस्कने वातावरण सरकारले बनाओस् भन्ने अर्को अपेक्षा राखेकी छन्।
कल्पना अधिकारीलाई घरबाहिरको चुनावी माहोलबारे अत्तोपत्तो छैन। काठमाडौँ क्षेत्र नम्बर नौकी मतदाता उनलाई कुन नेताले के बोले, के के काम गर्छन्, अनि चुनाव के को लागि हुँदैछ थाहा छैन। भोलि घरको काम जतिबेला सकिन्छ, त्यही अनुसार मतदान गर्न जाने सोचमा छिन्। कसलाई भोट दिने पनि थाहा छैन। भन्छिन्, ‘मलाई यस्तोबारे केही थाहा छैन, जसले जित्छ त्यसैलाई भोट दिन्छु।’
निलम प्रधान भोट त हाल्नैपर्ने ठान्छिन्। तर कसलाई भन्ने चाहिँ उनलाई पनि पत्तो छैन। भन्छिन्, ‘आजकाल त कसले के गर्छ भन्ने थाहा नै हुँदैन, यसो हेर्दा जसले राम्रो गर्छ जस्तो लाग्छ, त्यसैलाई दिने हो।’

यी गृहणीहरुको भनाइले दर्शाउँछ, संघारमै आइपुगेको चुनाव आम मतदाताको दैलोबाट भित्र छिर्न सकेको छैन। कार्यालय, चियापसल र चुनावी सभाको छलफलभन्दा बाहिर रहेर घरभित्रकै संसारमा रमाउने गृहणीहरुमा चुनावको चिन्तन खासै देखिँदैन।