
काठमाडौँ– बुधबार नयाँ संविधानलाई संस्थागत गर्ने पहिलो आमचुनावको दोस्रो चरणको अघिल्लो दिन सधैँ भरिभराउ देखिने बसन्तपुर खालिखालि देखियो। त्यहाँका स्थायी आकर्षण बनेका क्युरियो दोकानहरु थापिएका थिएनन्। तर, मान्छे न हुन्, घाम ताप्ने निहुँमा नजिकैको चिया पसलबाट मगाएर चिया खाँदै बस्न छोडेका थिएनन्। हुल बाँधेर देखिने पर्यटकको भिड त यहाँको शोभा नै भइहाल्यो।
मन्दिरमा बसेर टोलाइरहँदा अनेक दृश्य आँखा वरिपरि घुमिरहेथे। एक हुल विदेशी हातमा नेपालको झण्डा बोकेको गाइडको पछिपछि हिँडिरहेथे। कसैको हातमा क्यामरा थियो, कसैकोमा चुरोट। आँखा भने गाडिइरहेथे सिधै अगाडि बसेर चुरोट तानिरहेका दुई युवामा। एउटाको शीरमा चुल्ठो थियो, अर्कोको सकेजति काटेको ठुटो कपाल। हैट ! चुृरोट पनि कति तानेको । चेन स्मोकरको नमूना सायद यिनै हुन्।
‘हेल्लो सोल्टी ! डिस्टर्ब गरेँ ल’, अचानकको सम्बोधनले झस्किए उनीहरु।
‘केही छैन यार ! भन्नुस् न’, अनि त सुरु भयो गफगाफ।
चुल्ठोवाला रहेछन् बालकुमार शेरचन। काठमाडौँकै स्थानीय। सोधेँ, ‘भोलि चुनाव छ। कस्तो मान्छेलाई भोट दिँदै हुनुहुन्छ?’
‘दिन्न भोटसोट’, अरठ्ठिए उनी।
‘किन?’
‘आजसम्म देकै त हो भोट । के हुन्छ दिएर?’ उनको आवाजमा पश्चातापको एक त्यान्द्रो थिएन। आक्रोश कति थियो भन्नैपरेन। फोटो, भिडियो केही खिच्न मानेनन् शेरचनले। उनीसँगैका माणिक श्रेष्ठ भने भिडियो खिच्नै तयार भए। ललितपुर ठैवका श्रेष्ठमा पनि उस्तै आक्रोश थियो। भोट हाल्ने मुडमा देखिएनन् उनी पनि। भने, ‘भोट हाल्न गइँदैन। भोटसोट केही हालिँदैन। भोट हालेर के गर्ने?’
– किन? – प्रश्न सोधियो।
– उनीहरु (नेताहरु) ठाउँमा पुगेपछि हरेक चीजमा ट्याक्स वृद्धि। म त भन्छु चुनाव आउँदै नआए हुन्थ्यो। हरेक चीजको मूल्यवृद्धि मात्र हुन्छ। सरसुविधा, विकास केही पनि हुनेवाला छैनन्।
– राम्रो नेता चुन्ने त चुनावबाटै हो नि होइनन् र?
– राम्रोमा पो चुन्ने हो। राम्रै छैनन् त कसलाई चुन्ने? राम्रो, नराम्रो एकठाउँमा राखेर चुन्न पाए पो चुनाव। सबै नराम्रो छन् त कसलाई चुन्ने?
सारी व्यापार गर्ने श्रेष्ठको आफ्नै विश्लेषण थियो। उनलाई लाग्दोरहेछ, चुनाव महंगी बढाउन मात्र आउँछ। कुनै निकास दिँदैन।
उपत्यकाका यी दुई युवासँग गफिँदै गर्दा पल्लापट्टिको मन्दिरको डिलमा पाँच युवती देखिए। मस्त हाँस्दै बात मारिरहेका। यीसँगै किन नगरुँ चुनावी गफ? काठमाडौँंकै एक कलेजमा पब्लिक हेल्थमा स्नातक गरिरहेका उनीहरु चुनावबारे गफिन तयार भए।
काठमाडौँ हाँडिगाउँकी शशिना थापाले भनिन्, ‘जति चुनाव भएपनि त्यसले कुनै परिवर्तन नल्याएपनि अब चाहिँ केहि राम्रो हुने आशा छ।’ थापाले भोट दिने उम्मेदवार चुनिसकेकी रहिछन्। ती उम्मेदवारमाथि आफूले गरेको विश्वास खेर नजानेमा ढुक्क छिन् उनी।
काठमाडौँ महानगरपालिका वडा नम्बर १४की प्रशंसा बस्नेतले पनि आफूले मत दिन लायक उम्मेदवार छानिसकेकी रहिछन्। उनमा पनि त्यस्तै विश्वास देखियो, ‘आफूले रोजेको नेताले आफैँलाई प्रतिनिधित्व गरेको जस्तो लाग्छ। उनीहरुले आफ्नै आवाज बोलेजस्तो लाग्छ।’ ठिक ठानेर मत दिएको नेताले जित्ने हो कि होइन भन्ने कौतुहल र आफ्नो मताधिकारको सहि प्रयोग गर्न पाउँदाको उत्साहले चुनाव रोचक बनाइदिएको बताइन् उनले।
पुरानो बानेश्वर भिमसेनगोलाकी ज्योति लामिछानेले भने घरदैलो कार्यक्रममा भोट माग्न आउने नेतालाई राम्रोसँग नियालेकी रहिछन्। नेताहरुले त्यतिबेला बोलेका कुराले उनलाई अचम्मित तुल्याएको छ।
नेपालको अवस्था अनुसार निकै कठिन हुने मुद्दाहरु नेताले उठाएको देख्दा उनलाई अनौठो लागेको रहेछ। जुन विषय सुन्दैमा पुरा गर्न निकै कठिन हुने अनुमान गर्न सकिन्छ त्यस्तो विषय नेताले सजिलै बोलिदिन्छन्। नेताहरुले सोझै झुठ बोलेको ज्योति जस्ता जनताले उत्तिखेरै बुझिहाल्छन्। शिक्षित युवा नागरिक ज्योतिले जानी जानी त्यस्ता नेतालाई भोट दिन सकून पनि कसरी। भन्छिन्, ‘उहाँहरुको कुरा सुन्दै ‘इज दिस पोसिबल’ जस्तो लाग्छ।’ झुट नबोल्ने नेता त सिला खोजे पनि भेटिँदैनन्। कम झुट बोल्ने नेतालाई ज्योतिको भोट जानेछ। उनको कामना पनि अब चयन हुने नेतृत्वले कम्तीमा बोलेका कुरा पुर्याउन भन्ने छ। भन्छिन्, ‘पुरा गर्न सकिँदैन भने बरु नबोले हुन्छ।’ केही राम्रा नेता पनि नभएका होइनन्। आफ्नो क्षेत्रका नेतालाई एकपटक विश्वास गरेर हेर्नुपर्ने ठान्छिन्। सधैँ गाली गरेर मात्र पनि भएन। मौका दिन त विश्वास गर्नुपर्यो। जनताले विश्वास गरेपछि नेताले सजिलै तोड्न पनि सक्दैनन्। नेतालाई काम गर्न दिइने सबैभन्दा ठूलो दबाब नै जनताको विश्वास हो भन्ने ज्योतिको मान्यता छ।
सिरपा श्रेष्ठ नक्सालकी मतदाता रहिछन्। भोलि नै मतदान गर्नुछ, उनी उत्साह र आशा बोकेर तयार भएकी छन्। उनी र उनीजस्ता युवाको चासो विकास हो। आशा गरे अनुरुपको आउटपुट आओस् भन्ने अपेक्षासँगै उमेद्वार चुन्दैछिन्। भन्छिन्, ‘हाम्रो एक्सपेक्टेशन पुरा भयो भने मात्र मत खेर जाँदैन।’ आफूजस्तै युवालाई विदेश जानबाट रोक्न रोजगारीको अवसर सिर्जना गर्नु नेताको अर्को जिम्मेवारी हो भन्छिन् उनी।
कलेज गल्र्ससँग गफिँदै गर्दा मुम्फली लिई आइपुगिन् एक अधवैंसे दिदी।
‘भोट हाल्न जाने होइन दिदी?’ सोधियो।
‘ए! १० गते नै हालेको हो’, तिखो आवाजमा जवाफ दिइन् उनले।
‘घर कहाँ हो र?’
‘रामेछाप हो नि। बच्चाहरुलाई छोडेर गएको। बाटोमा बस बिग्रेर कम्ता दुःख पाइयो! अब त मरे नि गइन्नँ’, मुम्फलीवाला दिदीको आवाजमा तिक्तता भेटियो। नाम समेत बताउन तयार भइनन् उनी।
भोलि बिहान सात बजे सुरु हुने चुनाव पर्खिरहेको बसन्तपुरलाई छोडी हिँड्दै गर्दा मनमा भने आइरहेथ्यो, उत्साह भए पनि विश्वास नकमाएको, कतिले त भोट नै हाल्ने मन नगरेको चुनाव के को संकेत होला? प्रणालीमा विश्वास भए पनि जनविश्वास गुमाउँदै गएका हुन् त नेताहरुले? कि, ललितपुरका माणिक श्रेष्ठले भनेजस्तो नराम्रो बीचको राम्रो चुन्न परेको हो? सायद, अर्को आम निर्वाचनसम्मको राजनीतिक नेतृत्व र त्यसले गर्ने निर्णयहरुले वास्तविकता बताउनेछ। अहिले त नारायणगोपाल स्टाइलमा भन्नु छ–
‘… भोलि त मतबाकसमा भोट खसाउन छँदै छ ।’