मतदातालाई आश्‍वस्त पार्न उच्‍च सुरक्षा सतर्कता

काठमाडौं- राजधानीमा सुरक्षा व्यवस्थाप्रति मतदातालाई आश्‍वस्त पार्न सरकारले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ।

गृहमन्त्रालयले पूर्ववत योजना अनुसार उपत्यकाका मतदान केन्द्र, गल्ली र सडकहरुमा तीन घेरामा सुरक्षाकर्मी परिचालन गरेको हो।

मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरीलाई राखिएको छ। केन्द्र परिसरमा सशस्त्र प्रहरीलाई खटाइएको छ भने गल्ली र सडकहरुमा नेपाली सेनाका टोली हातहतियार सहित गस्तीमा छन्।

राजधानीमै बम बिस्फोटन र अन्य हिंसाका गतिविधि बढेपछि काठमाडौंमा सबैभन्दा धेरै सुरक्षा व्यवस्था कडा पारिएको हो । सुरक्षा व्यवस्थामा कुनै पनि कमजोरी हुन नदिन मतदाताहरुको समेत खानतलासी भइरहेको छ।

सुरक्षा जाँचका कारण मतदानका लागि मतदातालाई लामो समय लागिरहेको छ । अनुमतिपत्र नलिएका सवारी साधनलाई निषेध गरिएका कारण शहरका अशक्त, अपांगता भएका व्यक्ति र वृद्धवृद्धा र गर्भवतिलाई मतदान केन्द्र पुग्‍न कठिनाइ भएको गुनासो छ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्