‘व्यवस्था मन पर्दैन, भोट दिन पनि छुट्दैन’

काठमाडौँ- २०४६ को आन्दोलनपछि सार्वजनिक जीवन बिताउन छाडेका अग्रज कलाकार मनुजबाबु मिश्रलाई यसपालि पुत्रमोहले मतदान केन्द्रसम्म पुर्‍याएको छ। उनी बहुदलीय व्यवस्था र गणतन्त्रका विरोधी, ६२/६३ को आन्दोलन पश्चात घोषणा भएको गणतन्त्रात्मक पद्धति उनलाई फिटिक्कै मन परेन। संवैधानिक राजतन्त्र र बहुदल पनि मन नपराएर लामो समय गुप्तवास बसे उनी।

घरकै चार घेराभित्र बसेर चित्र कोरे। अजंगका चित्रहरु बनाए। ‘ती चित्रमा म आफैँलाई देख्छु,’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए उनले। आफूले मन नपराएको व्यवस्था अन्तर्गत नै छोरा रवीन्द्र मिश्रले राजनीति गर्दैछन्। उनलाई यो कुरा पनि मन परेको छैन। छोराले जुन पद्धतिमा राजनीतिले सुरु गरे, त्यो उनलाई मन परेको पद्धति होइन। तर, मन नपरेकै पद्धतिमा पनि अहिलेसम्म भने भोट खसालिरहेकै छन्।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणको निर्वाचन भइरहेको बेला बिहीबार उनले काठमाडौँको क्षेत्र नम्बर तीनबाट भोट खसाले। उनले आफ्ना छोरा रवीन्द्रलाई भोट दिन भने पाएनन् । उनले बौद्धबाट भोट खसाले। हरेकपटक मतदान गर्न जाँदा उनलाई पहिलोपटक मतदान गर्दाको जस्तै उत्साह हुन्छ। यसपालि पनि २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा जस्तै उत्साह थियो। भने, ‘म कुनै पार्टीको मान्छे होइन, तर भोट हाल्न त जहिले जाउँ जाउँ हुन्छ ।’

बिहीबार मतदान गर्न हिजैदेखि व्यग्र थिए। बेलुकी चाँडै सुत्ने बानी भए पनि हिजो भने घरमा पाहुना आएकाले राम्रोसँग निद्रा परेन। बिहान दुई बजेपछि निद्राले छोड्छ। बिहानै उठेर नित्यकर्म सकी चिरिच्याट्ट परेर मतदान गर्न हिँडे। छोराले गाडीमा पुर्‍याइदिन्छु भन्दा पनि हिँड्दै जाने इच्छा गरे। आफ्नी श्रीमती र आफूभन्दा चार वर्ष कान्छा भाइको जोडीसँगै बाटो लागे। हिँड्दै जाँदा बाटामा वल्लो पल्लो घरका मान्छेहरु भेटिएलान्, बात मारौँला भनेर हिँड्ने रहर गरेका थिए। बौद्ध निवासी उनको मतदान केन्द्र महांकाल जनकल्याण मावि घरबाट नजिकै थियो। तै पनि हिँड्न नसकेर बीच बाटोमा थचक्कै बस्नुप¥यो। छोरासँग गाडी मगाएर मतदान केन्द्रसम्म पुगे। मतदान केन्द्र पुगेपछिको खुशी पनि सुनाए, ‘बुढाबुढीको लागी राम्रो व्यवस्था गरेको रहेछ, सजिलै भोट हाल्न पाएँ।’ भोट त छोराकै दललाई नै हाल्नुभयो होला भनेर सोध्दा हाँस्दै जवाफ दिए, ‘त्यो त सोध्नै पर्दैन नि।’

संविधानसभाको चुनावका समयमा बनाएको मतदाता परिचयपत्रले स्थनीय तहको निर्वाचनमा भोट हाल्न पाएनछन् । भने, ‘त्यही परिचयपत्रले भइहाल्ला भनेर ढुक्क परेर बसेको थिएँ, पछि भोट हाल्न जाँदा मानेनन्, एकछिन गलफती भयो अनि भोट हाल्न दिएनन्।’

२०१५ सालमा बनाएको नागरिकता पुरै धुजाधुजा भइसकेको थियो । यसपालि पनि त्यो नागरिकताले मतदाता परिचयपत्र बनाउन मिलेन। नयाँ नागरिकता लिएर मतदाता परिचयपत्र बनाएका थिए। बहुदलको विरोधी भएपनि उनी मताधिकार प्रयोग गर्न चुक्दैनन्। मतदान गर्नुलाई मनको कुरो व्यक्त गर्ने ठूलो अवसर ठान्छन्। देशमा जति परिवर्तन भएर आएपनि बहुदलले उनको मन जित्न सकेको छैन। भन्छन्, ‘बहुदलबाट देश बन्ने संभावना छैन, यसले देश बिगार्छ, बनाउँदैन।’ संघीयता पनि उनलाई मन परको विषय होइन। विशाल भारतलाई हेरेर त्यही नक्कल गर्दै नेपाललाई संघीयतामा लैजानु चित्तबुझ्दो कुरो लाग्दैन उनलाई। भन्छन्, ‘सरकारले गर्‍या क्रियाकलापालाई आलोचना गर्न चाहन्न, तर नक्कल पनि राम्रो कुरा पो गर्नु।’ जति चित्त नबुझाई भएपनि जीवनको उत्तराद्र्धतिर पुग्दासम्म आश मारेका छैनन्। मान्छेको जात जन्मेदेखि आशै आशमा बाँचेको हुन्छ। देश राम्रो होला भन्ने आशा गर्दै मतदान गरेका छन्। चुनावबाट छानिएका प्रतिनिधिले राम्रो गर्लान् भन्ने आशा छ उनलाई।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्