दुई उम्मेदवारबीच हेराहेर मात्र, बोलचाल भएन

मोरङ- प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत मोरङका विभिन्‍न ६ क्षेत्रमा शान्तिपूर्वक निर्वाचन हुँदैछ। बिहान ७ बजे निर्वाचनको सुरु भएसँगै मतदानस्थलमा सर्वसाधारणको उत्साहपूर्वक सहभागिता छ।

विराटनगर महानगरपालिकाको विभिन्न क्षेत्रमा अवस्थित मतदानस्थलमा विहान ५ बजेदेखि नै मतदानका लागि मतदाताहरु लाइनमा उपस्थित भएका थिए। तीन मतपत्रमा मतदान गर्नुपर्ने भएपनि मतदाताले समस्या नदेखिएको बताएका छन्।

वडा नम्बर ४ स्थित कञ्चनबाडी स्कुलमा रहेको मतदानस्थलमा मताधिकार प्रयोग गरेकी ९० वर्षीय नर्मदादेवि भण्डारी मतदानका लागि सहज भएको बताउँछिन्। घुँडाको बिरामी भण्डारीले आधा घण्टाको समय पनि लाइनमा बस्नु नपर्दा मतदानका लागि सजिलो भएको बताइन्।

अर्कोतर्फ वडा नम्बर १२ को महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको मतदानस्थलमा भने नाम र क्रमसंख्या नभेटिँदा मतदानका लागि गाह्रो भएको स्थानीयले बताएका छन्। स्थानीय तह निर्वाचनको भन्दा मतदान सहज भए पनि यसपटक नाम र क्रम संख्या नभेटिँदा अन्यौल भएको राजु धमलाले बताए।

यस मतदानस्थलबाट बामगठबन्धनका प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितले पनि मतदान गरेका थिए। उनका अनुसार मतदानमा जनताको सहभागिता उत्साहपूर्ण छ। स्थानीयको नतिजा यस क्षेत्रमा जस्तो रहे पनि, प्रतिनिधि र प्रदेशसभामा यस क्षेत्रमा आफूहरुको जित सुनिश्चित रहेको उनको दाबी छ।

त्यसै क्षेत्रका कांग्रेस उम्मेदवार डा. शेखर कोइरालाले आदर्श विद्यालयमा मताधिकार प्रयोग गरेका थिए। त्यसपछि मतदानस्थल निरीक्षण गर्दै महेन्द्र मोरङ क्याम्पस पुगेका कोइराला र पण्डितबीच हेराहेर मात्र भएको थियो। डा. कोइराला मतदातस्थलमा प्रवेश गर्दा पण्डित मतदातासँग भलाकुसारी गरिरहेका थिए। दुवैबीच हेराहेर भएपनि बोलचाल भने भएन।

डा‍. कोइरालाले भने, ‘जनताले संविधानका लागि आफ्नो जिम्मेवारी पुरा गरिसकेर यतिबेला अब विकासका लागि लोकतन्त्रवादीको जित आवश्यक रहेको छ,जनता समझदार छन् विकास कांग्रेसले नै गर्नसक्छ । म आफै पनि विहानैबाट मतदानस्थलमा जनताको उत्साहदेखेर हौसिएको छु।’

मोरङ जिल्लाको क्षेत्र नम्बर ६ को कुल मतदाता संख्या १ लाख १० हजार ३ सय २२ छ । यहाँ बुढीगंगा गाउँपालिकाको सवै बडा, त्यसैगरी विराटनगर महानगरपालिकाको ४,५,६,७,९, ११ र १२ छ। यस्तै नयाँ गाभिएको क्षेत्र सुन्दरहरैंचा को २,३,४,५,६,७ नम्बर वडा यसै क्षेत्रमा पर्दछ। जिल्ला प्रहरी कार्यालय मोरङले दिउँसो मध्यान्हसम्म जिल्लाभित्र कुनैपनि किसिमको अप्रिय घटना नभएको जनाएको छ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्