ज्येष्ठ नागरिकले भने, ‘हामीले भोट दियौँ अब विकास देऊ’

कास्की- प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा मतदानपछि ज्येष्ठ नागरिकले निर्वाचित उम्मेदवारलाई मुलुकमा विकास शान्ति भित्र्याउन आग्रह गरेका छन्।

कास्कीको क्षेत्र नं. २ पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३३ को शान्ति उदय मावि वरपाण्डे थुममा मतदान सँगै ८१ वर्षीय मारकण्ड भण्डारीले देशको विकास र शान्तिका लागि आफूले मतदान गरेको बताए। सुविधायुक्त बाटो, खानेपानी, स्वास्थ्य उपचारमा निर्वाचित उम्मेदवारलाई ध्यान दिन उनको आग्रह थियो। पोखरा १७, रातोपैह्रोकी ७५ वर्षीय मुटुरोगी रत्नादेवी कार्की अक्सिजन सिलिण्डरसँगै मतदान केन्द्रमा भोट हाल्न पुगिन्।

‘मैले भोट देश बनाउँछन् कि भनेर दिएँ। अब कुनै छलछाम नगरी देश बनाए हुन्थ्यो । मेरो उपचारमा महिनाको ५० हजार रुपैयाँ खर्च हुन्छ। सरकारले ज्येष्ठ नागरिकलाई निशुल्क उपचार गरिदिनु पर्‍यो। उनले भनिन्, ‘जसरी घरदैलोमा भोट माग्न आउँदा देश र जनताकालागि काम गर्छु भन्नु भएको थियो, त्यसरी नै जिते पछि पनि काम गर्नुहोला।’

‘मेरो नातिले देशमै काम गर्न पाओस् भनेर भोट हाल्न आएँ,’ ७२ वर्षीय सीता भुवाईले भनिन्। ‘मर्ने बेलामा छोरा नाति काखमै भएको देख्‍नु चाहन्छु,’ उनले भनिन्, ‘अब छोरा नातिले पैसा कमाउन विदेश जान नपरोस्, जितेका नेताले यत्ति गरिदिए पुग्छ।

७० वर्षीया पार्वती भण्डारीले वृद्धभत्ता बढाएर स्वास्थ्य उपचार निशुल्क गरिदिन आग्रह गरिन्। ‘घरगाउँमा आउने बाटो पिच भइदिए सुख हुन्थ्यो। अब देशमा शान्ति होस् ,विकास् होस् ।’ मतदान केन्द्रमा भेटिएका अधिकांश ज्येष्ठ नागरिकले निर्वाचित उम्मेदवारबाट सुविधायुक्त बाटो, खानेपानी, स्वास्थ्य उपचार, देशमै छोरा नातिनातिनाको लागि रोजगारको अपेक्षा गरेको बताए।

कास्की जिल्लाका कुल १५० मतदानस्थलमा बिहीबार शान्तिपूर्ण तरिकाबाट निर्वाचन भइरहेको छ। कास्कीमा दुई लाख ५५ हजार ४५२ मतदाता छन्। निर्वाचनमा विभिन्न १९ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

अहिलेसम्म कास्कीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र एक बजेसम्म करिब ४५ प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।

बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ। मतदान केन्द्रहरुबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइसकेपछि सर्वदलीय सहमतिमा मत गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले बताए ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्