
काठमाडौं (टोखा)– ‘हाम्रा लागि भोट हाल्नु भनेको मेला भर्न गएजस्तो हो नि,’ रातो चुरा र पोतेमा सजिँदै नेवारी पोसाक हाकुपटासीसहित भोट हाल्न आइपुगेकी टोखा नगरपालिकाकी फुलमाया महर्जनले धोको फेरेर हाँस्दै भनिन्, ‘बल्लतल्ल यस्तो मौका मिलेको छ।’ उनको हाँसोमा पनि स्वतन्त्रताको अभिव्यक्ति पूर्णरुपमा झल्किन्थ्यो।
सामान्यतयाः घरबारी र चुल्होचौकोमै २४ घण्टा बिताउनुपर्ने महर्जनका लागि त्यो स्वतन्त्र आवागमनको अवसर बिहीबारको मतदानले जुटाएको थियो। उनी त्यो भेगकी अधिकांश महिलाका लागि प्रतिनिधि पात्रका रुपमा मतदान केन्द्रमा देखा परेकी थिइन्। त्यसैले उनको हाँसो र अभिव्यक्तिमा सँगै भोट हाल्न लामबद्ध भएका महिला सहमत भए।

बानेश्वर, पुतलीसडक, डिल्लीबजार लाजिम्पाट, महाराजगञ्ज हुँदै करिब पाँच किलोमिटर उत्तरतर्फ ऐतिहासिक र क्षेत्र टोखा नगरपालिकामा पुग्दा त्यहाँका स्थानीयमा चुनावी रौनकको दृश्य फरक देखियो। महानगरपालिका वडा नम्बर ३ को स्थानीय विद्यालयमा चलिरहेको मतदान केन्द्रको दृश्य कुनै मेलाभन्दा फरक थिएन। चिसो मौसम, खानापछि नै भोट हाल्न जाने भन्ने स्थानीयको मनस्थितिले त्यो समयमा बल्ल मतदानको रौनक बढेको थियो, जहाँ पुरुषभन्दा पनि महिलामा उत्साह धेरै देखिन्थ्यो।

फुलमाया जस्तै आआफ्नै मौलिक भेषभुषामा चिटिक्क परेर महिला मत हाल्न लामवद्ध भइरहेका थिए। करिव आधा घण्टासम्म लाइन लागी मत हालेर बाहिर निस्केपछि पनि उनीहरु घण्टौँ साथीसँगीसँग गफिए। चुनावी छलफलमा सामेल भइरहेकी स्थानीय सिर्जना लगत निकै हसिलो मुद्रामा देखिन्थिन्।
‘आफूलाई पनि रहर लाग्छ भोट हाल्न। अरुले भोट हालेको पनि हेर्न मन लाग्छ। त्यसैले आज घरमा जे सुुकै होस् भन्दै बसिरहेको छु म त,’ सिर्जनाले पनि हाँस्दै भनिन्, ‘सँधै पुुरुषले मात्रै राजनीतिका गफ गरेको देख्यौं। आज हामी पनि गरौं भन्ने लाग्यो।’
सिर्जनाले आफ्नो अनुभव साट्दै गर्दा डोको बोकेरै मतदानका लागि आइन् स्थानीय नानीमैँया मर्हजन। बिहानै घरधन्दा सकेर मेला पुगेकी उनको मन त्यहाँ अडिएन र भोलिलाई काम थाँती राख्दै डोकैसँग उनी मतदान केन्द्र गर्न आइपुगेकी थिइन्।

आफूले दिएको मतले देश विकासमा सहयोग होस् भन्ने चाहना सिर्जनाको छ। ‘हाम्रो ठाउँमा बाटोहरु सँधै बिग्रिरहन्छन्। बाटोका कारण हामीले कि हिलो कि धुलोको सामना गर्नुपर्छ, आशा छ अब हाम्रो भोटबाट जितेकाले यो समस्या गर्ने छन्।’
आफ्नै धार्मिक र सांस्कृतिक पहिचान बोकेको टोखाका महिलालाई मात्रै होइन, पुरुषलाई पनि मतदान गरेर फर्कँदा मेला भरेर फर्केझैँ भएको छ। सोही नगरपालिकाको अर्को मतदान केन्द्रमा भेटिएका बाबुराम शर्माले यो निर्वाचनलाई जनताको स्वतन्त्रताको अधिकार प्रयोग गर्ने अवसरका रुपमा लिएका छन्। उनले भने, ‘हामी यो देशका नागरिक भएको हैसियतले भोट दिनैपर्छ । तर, असल चरित्र र अरुको भलाइमा काम गर्ने मानिसलाई मात्रै।’