दोस्रो चरण निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

अर्घाखाँचीको दुई केन्द्रमा मतदान स्थगित
काठमाडौंः दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सुरु भएको मतदान अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाको वडा नम्बर ५ स्थित दुई मतदान केन्द्र बाहेक अन्य ठाउँमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
बिहान सात बजेदेखि सुरु भएको मतदान कार्यक्रम सकिएसँगै मतपेटिकालाई सिलबन्दी गरेर मतगणनास्थलतर्फ लग्न थालिएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ४५ जिल्लामै निकै उत्साह र शान्ति पूर्णरुपमा मतदान भएको बताए। उनले साँझ पाँच बजेपछि मतदानका लागि मतदाता पुगेका स्थानहरुमा भने मतदान कार्यक्रम सकिन केही समय लाग्ने बताए।
‘हामीले अपेक्षा गरे अनुसार नै मतदान शान्तिपूर्ण र उत्साहका साथ सम्पन्न भएको छ । त्यसले हामीलाई पनि खुसी प्रदान गरेको छ,’प्रवक्ता ढकालले देशसञ्चारसँग भने ।
ढकालका अनुसार अर्घाखाँचीका दुई वटा मतदान केन्द्रमा पनु: निर्वाचन हुनेछ। दोस्रो चरणको निर्वाचनमा १ सय २८ जना प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा सदस्यका लागि मतदान भएको हो ।
ती जिल्लामा १५ हजार ३ सय ४४ मतदान केन्द्रमा सञ्चालनमा ल्याइएको थियो । आयोगले एक करोड २२ लाख ३५ हजार ९सय ९३ जनाको मतदाता नामावली बनाएको थियो । गत मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । सुरक्षा व्यवस्था चुस्त पारिएका कारण कुनै पनि मतदान केन्द्रमा अप्रिय घटना नभएको आयोगका प्रवक्ता ढकालले बताए ।