मोरङमा भोलिदेखि मतगणना

विराटनगर– प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत विहीबार सम्पन्न निर्वाचनमा मोरङग जिल्लामा ६० देखि ६५ प्रतिशत मतदान भएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता हेमन्त श्रीवास्तवका अनुसार ६ वटै निर्वाचनस्थलका मतदान अधिकृतहरुसँग रिपोर्ट लिने क्रममा रहेकाले ६५ प्रतिशतसम्म मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार निर्वाचन सम्पन्नपछि विभिन्न क्षेत्रबाट विराटनगर महानगरपालिकास्थित वीरेन्द्रसभा गृहमा मतदान पेटिका ल्याउन थालिएको छ।

कार्यालयले राति अबेरसम्म सबै क्षेत्रबाट मतपेटिका विराटनगर आइसक्ने जनाएको छ। शुक्रबार बिहान ७ बजे दलका नेताहरुलाई सर्वदलीय बैठक राखिएको र त्यसपछि करिब ९ बजेबाट मतगणना सुरु हुने बताइएको छ। आउँदो मंगलबारसम्ममा प्रदेश र प्रतिनिधिसभाको नतिजा सार्वजनिक गर्ने लक्ष्यसाथ काम गरिरहेको कार्यालयले समानुपातिकको नतिजाका लागि थप दुई दिन लाग्ने जनाएको छ।

बिहान ७ बजेबाट सुरु भएको निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण सम्पन्न भएको कार्यालयले जनाएको छ । मोरङ जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमा कुल ६ लाख ४४ हजार ७ सय ८२ मतदाता छन्। कार्यालयका अनुसार, मोरङ जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमा शान्ति र सौहार्द्रपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्