६७ प्रतिशत मतदान, पहिलेका निर्वाचनभन्दा न्यून

डा.अयोधीप्रसाद यादव। तस्बिर: रासस

काठमाडौँ- हिंसा र त्रासदीबीच भएको संघीय तथा प्रान्तीय संसदको दोस्रो र अन्तिम चरणको निर्वाचनमा कुल ६७ प्रतिशत मतदाताहरुले भाग लिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सञ्चाकारकर्मीसँग भने, ‘मत प्रतिशत अपेक्षाकृत नै छ। यसअघि मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो। मधेसमा पृथकतावादी नेता सिके रावतले चुनाव बहिस्कार गर्न जारी गरेको सार्वजनिक अपिल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुद्धारा विभिन्न ठाउँमा गराइएका बिस्फोट सामना गर्दै ठूलो संख्यामा भएको मतदानप्रति निर्वाचन आयोगले सन्तोष व्यक्त गरेको छ।

ढकालले ४५ जिल्लामै निकै उत्साह र शान्तिपूर्णरुपमा मतदान भएको बताए। योसँगै आयोगले संवैधानिक र कानुनी जिम्मेवारी पूरा गरेको दाबी उनको छ। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले निर्वाचन गराउन सफल भएकोमा आम जनतालाई धन्यवाद दिएका छन्। यद्यपि विगतका दुई संविधानसभा र केही महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनको तुलनामा यसपटकको मतप्रतिशत केही तल झरेको तथ्याङ्कले देखाउँछ।

पहिलो चरणमा मतदान सम्पन्न ३७ संसदीय क्षेत्रमध्ये गोरखा, सिन्धुपाल्चोक, हुम्ला, ताप्लेजुङ, पाँचथर, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट र कालिकोटमा दोस्रो चरण मतदान समाप्त हुनेबित्तिकै मतगणना सुरु भएको छ। निर्वाचन सम्पन्न गर्न खटिएका सम्पूर्ण निर्वाचन आयोगका कर्मचारी, पर्यवेक्षक, सुरक्षाकर्मी, स्वयमसेवकलगायत सबैलाई आयोगले धन्यवाद दिएको छ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्