मत पनि हालियो, भक्का पनि बेचियो

मतदानपछि सामान बेच्दै बृद्धा। तस्बिर: देशसञ्चार।

विराटनगरः वरिपरिबाट भीडले घेरिएको छ। भीडभित्र दुई बृद्धा आआाफ्नो दाउराको चुल्होमा स्थानीय खाजा भक्का, चप बनाउन व्यस्त छन्। ‘आज बहुत राम्रो कमाइ भएको छ, यी हेर्नुस्, यस्तै सधैँ भइदियोस् हामीलाई राम्रो लाग्छ।’ यो भनाइ ६८ वर्षीया वृद्धा विहसारी राजवंशीको हो। विराटनगरदेखि पूर्व कटहरी गाउपालिका २ कदमाहा चौकमा विहान बेलुका राजवंशीको कार्य स्थानीयलाई भक्का, आलु चप, बैगन चप, ब्रेड चप बनाएर बिक्री गर्नु हो।

यसैक्रममा विहीबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले उक्त चोकमा मानिसको बाक्लो चहलपहल हुँदा राजवंशीको व्यापार राम्रो भएको हो। आफ्नो पेसामा व्यस्त वृद्धालाई भोट हाल्नु भयो भनी प्रश्न गरेँ मैले। जवाफ आयो, ‘भोट बिहान हालिहालेँ, त्यसपछि भक्का बेच्न बसेको छु, राम्रो भएको छ’, दंग पर्दै राजवंशीले कुरा राखिन्।
त्यसैगरी उनको छेउमै अर्की बृद्धा रामवतीदेवी मण्डल पनि सोही व्यापार राम्रो भएकोमा दंग थिइन्। दुवै बृद्धा आआफ्नो मताधिकार प्रयोग गरी व्यापारमा समय खर्चिरहेका थिए। दुवैको बुझाइ आफूले जसलाई मत दिए पनि राम्रो भइदियोस्, यसरी नै गरी खाने वातावरण बनिरहोस्।

त्यसैगरी सोही गाउँकी ४४ वर्षीया गीतादेवी मण्डलले भने दुई वृद्धाभन्दा फरक अपेक्षा गरिन्। गृहिणी मण्डलले आफूले सुविधा पाउने आशामा भोट हालेको बताइन्। कुराकानीकै क्रममा भोट कस्लाई दिनु भयो त भन्ने प्रश्नमा हाँस्दै मण्डलले भनिन,् ‘माछा पानीमा। ठुलो माछा पनि हुन सक्छ अनि सानो माछा पनि ।’ शिक्षाको पहुँच सबैमा पुर्याउनुपर्छ भन्ने बुझेकी मण्डललाई अब निर्वाचनपछि के हुन्छ भनी सोध्दा मण्डलले पुनः हाँस्दै भनिन्, ‘भोट दिइहालेँ, अब नेता नै जानुन् के हुन्छ।’ अर्कोतर्फ अधिकांश स्थानीयको बुझाइ यस क्षेत्रमा अब शिक्षा, रोजगारी, सडक, बिजुलीलगायतको पूर्वाधार बन्ने छ।

यस कदमाहा चोकस्थित अनन्त माध्यमिक विद्यालयमा मतदानस्थल थियो। यहाँ १ हजार ३ सय २९ मतदाता छन्। क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका महेश आचार्य, बामगठबन्धनका अमनलाल मोदी प्रतिस्पर्धामा छन्। त्यसैगरी प्रदेशसभातर्फ कांग्रेसका विश्वनाथ रिजाल, भक्तिनाथ माझी, बामगठबन्धनका जीवन घिमिरे र विजय थारु विश्वास छन्।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्