धनुषामा ७० प्रतिशत मत खस्यो

धनुषाको एक मतदान केन्द्रमा लामबद्ध महिला मतदाता। तस्बिर: प्रतिभा झा

जनकपुरधाम– प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणकोे निर्वाचन धनुषामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। धनुषाको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार प्रदेश नम्बर २ को धनुषा जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भएको छ।

कुल ४ लाख ४ हजार ६ सय ७६ मतदाता संख्या रहेको धनुषामा ७० प्रतिशत मतदाताले मत खसालेका छन्। मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार चार निर्वाचन क्षेत्र रहेको धनुषामा क्षेत्र नं– १ मा एक लाख दुई हजार ७१२, क्षेत्र नं. २ मा एक लाख छ हजार १००, क्षेत्र नं. ३ मा ९७ हजार ५०२ र क्षेत्र नं. ४ मा ९८ हजार ३६० मतदाता छन्। यस्तै मतदानका लागि ३२७ मतदान स्थलमा ५४८ मतदान केन्द्रको व्यवस्था गरिएको थियो भने २२२ अतिसंवेदनशील र १०५ संवेदनशील मतदानस्थलका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

नेपाली कांग्रेस नेता एवं धनुषा निर्वाचन क्षेत्र नंं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले राजेश्वर निधि माध्यमिक विद्यालय नगराइन मतदान केन्द्रमा मतदान गरे। यस्तै धनुषा क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार रघुवीर महासेठले जनकपुर उपमहानगरपालिका–९ स्थित सहृदय पुस्तकालय मतदान केन्द्रमा मतदान गरे। खानेपानी तथा सरसफाइमन्त्री एवं कांगे्रसका तर्फबाट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादवले जनता निमावि बनिगामा मतदान केन्द्रमा मतदान गरे। मतपेटिकाहरु राति १० बजेसम्म महेन्द्रनारायण निधि भवनमा ल्याइसकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  मतगणना शुक्रबार बिहान ८ बजेदेखि शुरु हुनेछ।

महिला सहभागिता बढ्यो
देशभरिमै सबभन्दा बढी धनुषाका युवाहरु वैदेशिक रोजगारमा गएकाले बिहीबार मतदानस्थलहरुमा पुरुषभन्दा बढी महिलाको सहभागिता देखिएको छ। उत्साहपूर्वक भोट खसाल्न मतदानस्थल पुगेका महिलाको संख्या पुरुष मतदाताको अनुपातमा दोब्बर देखिएको छ। लामो समयदेखि द्वन्द्व फसेको तथा विकासको काममा गति नपाउँदा जर्जर बनेको अवस्थालाई सुधारका निमित आफ्नो प्रतिनिधि छान्न आफू मत खसाल्न आएको किरणदेवीले बताउँछिन्।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्