कास्कीमा मतदान स्थानीय तहभन्दा कम

कास्कीमा बिहीबार सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा स्थानीय तहमा भन्दा कम मत खसेको छ। क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका अनुसार करिब ६७ प्रतिशत मत कास्कीमा खसेको छ। यो स्थानीय तहको भन्दा ८ प्रतिशत कम हो। स्थानीय तहको चुनावमा ७४.८६ प्रतिशत मत खसेको थियो।

दुई लाख ५५ हजार ४५२ मतदाता रहेको कास्कीमा स्थानीय तहको निर्वाचनमा भन्दा २० हजार ६ सय ४१ नयाँ मतदाता थपिएका थिए। मतदाताको संख्या थपिए पनि सोही अनुरुप मतदान गर्नेको संख्या भने बढ्न सकेन। ‘स्थानीय विकास र राजनीतिसँग जनताको सरोकार बढी देखिएको थियो तर अहिलेको निर्वाचनमा त्यो उत्साह देखिएन,’ पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बोधराज ढकालले भने–‘केन्द्रीय तथा प्रदेशको राजनीतिमा जनताको चासो उत्साहपूर्ण देखिएन।’

कास्की जिल्लाबाट प्रतिनिधिसभामा ३ जना र प्रदेशसभाका लागि ६ जना निर्वाचित हुँदैछन्। १५० मतदानस्थलमा भएको निर्वाचनको मतपेटिका अहिले गणनास्थल पोखरा सहिदचोकमा ल्याउने क्रम जारी छ। राति १० बजेभित्र सम्पूर्ण मतदानस्थलबाट आवश्यक सुरक्षा एवं अन्य प्रक्रिया पूरा गरी मतपेटिका ल्याउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए।

गणनास्थल ल्याई पुर्याइएका मतपेटिकालाई सर्वदलीय बैठकपछि २२ गते बिहानदेखि मतगणना सुरु क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।

कास्कीको निर्वाचन क्षेत्र नंं १ को क्षेत्रीय शिक्षा निर्देशनालय र क्षेत्र नं २ को डिभिजन सहकारीको कार्यालयमा र क्षेत्र नं. ३ को जिल्ला समन्वय समितिको कार्यालयमा गणना हुने सुवेदीले बताए।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्