अब स्थायी सरकार बन्छ कि बन्दैन?

महोत्तरीका रामनारायण राम। तस्बिर: देशसञ्चार।

काठमाडौं – बिहीबार काठमाडौँ शहरका सडकहरु सवारीसाधन शून्य र मानिसले भरिभराउ देखिए। आमनिर्वाचनको दोस्रो चरणको मतदानको दिन मतदातामात्र होइन, भोटरलिस्टमा नाम छुटाएका वा भोट हाल्न घर जान नपाएकाहरु समेत सडकमा निस्किए, मानौँ, कुनै जात्रा–उत्सव हो यो। बिहान ९ बजेतिर काठमाडौँ बिजुलीबजारको मतदान केन्द्रबाट मध्यबानेश्वरको रत्नराज्य माविमा रहेको मतदान केन्द्रको फन्को लाउँदै गर्दा अनेकन् रोचक दृश्य देखिए ।

लठ्ठी टेक्दै मतदान केन्द्र जाँदै आउँदै गरेका वृद्धवृद्धा, सुन्तला छोडाउँदै उल्लास मनाउँदै गरेका अधवैंसे महिलाहरु, खितखिताइहेका किशोरकिशोरीहरु । मतदानको दिनलाई उल्लासपूर्ण बनाउने यिनै त थिए । चोकचोकमा उभिएर परिणाम आकलन गरिरहेका बुज्रुकको त झन् के कुरा ! उल्लासलाई मेलामा परिणत गरिरहेथे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पानी ट्यांकी साइडमा मुम्फली र सुन्तला बेच्न लाम लागेका ठेलागाडाहरुले।

‘अनि, भोट हाल्न गइएन दाजु ?’ सुन्तलाको पैसा तिर्दै सोधियो एकजना सुन्तला व्यापारीलाई।

‘१० गते नै हालेको हो’, उनी परेछन् रामेछापका।

‘रमाइलो छ हैन ?’

‘रमाइलो छ हजुर । चुनावमा यति त हुनैपर्‍यो नि।’

लोकतन्त्र चुनाव मात्र होइन – बराल
संवृद्धिको नारा भुलभुलैया हो – ढकाल

एक अधवैंसे महिला भने कसैलाई भन्दै थिइन्, ‘भोट त खेर जान दिन भएन नि। मैले त जित्नेलाई नै दिएँ।’

उनले मतगणना नहुँदै जित्ने पार्टी चिनेर भोट दिएको प्रसंग उदेकलाग्दो थियो। कारण सोध्ने चाहनालाई उनको ननस्टप मोबाइल वार्ताले मारिदियो। बरु कुरा गर्न तयार भए सुनीलकुमार ज्ञवाली। पुरानो बानेश्वर हुँदै मैतीदेवी पार गरेर आउँदा कालिकास्थानमा भेटिए उनी।

चियाको कपलाई पत्रिकाले ढाक्दै गफिन तयार भए उनी।

‘जनता भनेको देशको सन्तान हो । भोट हाल्ने भनेको देशलाई माया गर्नु हो । भोट हालेर मैले मेरो कर्तव्य पुरा गरेँ’, बुढी औँलाको नङमा पोतिएको नीलो मसी देखाउँदै भने उनले । उमेरले ६० पार उनको स्मृति अलि कमजोर रहेछ, धेरै सम्झिन सकेनन्। ‘जानेदेखि भएका सबै चुनाव नछुटाई भोट हालेको छु’, भने ज्ञवालीले, ‘लप्पनछप्पन जानिन्नँ । हामी त सोझा जनता । चुनाव आउँछ भोट दिन्छौँ ।’

राजनीति बिग्रिएको छ

कालिकास्थानबाट वाल्मिकी क्याम्पसको मतदान केन्द्रसम्म पुग्दा सडकमा उत्तिकै भीड थियो । दिउँसोको तीन बजिसकेको थियो । मतदान केन्द्र भने सुनसान हुँदै थियो। फाट्टफुट्ट मान्छे देखेपछि स्वयम्सेवक लेखेको कार्ड भिरेका एक अधवैंसेलाई सोधियो, ‘मतदाता सकिए कि आउन छोडे ?’

‘होइन, आईरहेछन् । आउनेजाने भईरहेछ’, जवाफ दिए उनले।

उनी रहेछन् नवराज तण्डुकार । स्थानीय वासिन्दा । स्थानीय भृकुटी क्लबका सव्रिmय सदस्य । ‘राजनीतिक आस्था एक ठाउँमा छ तर हामी क्लबको तर्फबाट सबैलाई सेवा गर्छौँ,’ – तण्डुकारले भने।

कुनै बेला उनी पनि राजनीतिमा सक्रिय सहभागी रहेछन् । चालिसको दशकमा भएको स्थानीय निकायको निर्वाचनका उम्मेदवार समेत । तर, राजनीति चटक्कै छोडेर लागेछन् समाजसेवामा ।

‘भोट हालेर के हुन्छ ? सरकारले केही दिन्छ ? सरकारले त उल्टो लिन्छ ’, तिखो आवाजमा आक्रोश पोखिन् उनले, मानौँ, उनले भनेको सरकार मै हुँ ।

‘हामी त समाजको सेवा गर्न भनेर राजनीतिमा लागेको । तर, राजनीति सोचेजस्तो नहुँदोरैछ ।’ – तण्डुकारले तितो पोखे ।

– किन ?

– राजनीति गरेपछि झुट पनि बोल्नपर्ने । गलत पनि गर्नपर्ने । नसक्ने काम पनि गर्छु भन्नपर्ने । साह्रै दिक्क लाग्यो अनि छोडिदिएँ ।

– त्यसोभए समाजसेवा नै ठीक छ ?

– समाजसेवा पनि कहाँ ठीक हुनु ? कि पैसा चाहिन्छ कि लिंक चाहिन्छ । राजनीति नजानी समाजसेवा पनि नहुँदोरहेछ ।

स्वयम्सेवकको रुपमा चुनावमा खटिए पनि तण्डुकारलाई यो चुनावले पनि खासै केही गर्छ जस्तो लागेको रहेनछ । संघीयता मुलुकले धान्न नसक्ने विश्लेषण रहेछ उनको । त्यसो त राजनीतिको चरित्रप्रति नै असन्तुष्ट छन् उनी । भन्छन्, ‘पैसाले राजनीति बिगारेको छ । जनताले पैसा नदिई भोट दिँदैनन् । त्यही पैसा उठाउन नेताहरु जे पनि गर्छन् ।’

उदास सडकपेटी
तण्डुकारसँग हात मिलाएर न्यु प्लाजा जाँदै गर्दा टुकुचाको पुलपारी सधैँ देखिने मोची देखिए । उस्तै अनुहार, उस्तै शुष्क मुस्कान ।

‘के हो दाजु, गइएन भोट हाल्न ?’ हातमा भएको पोलेको मकै भाँचेर दिँदै सोधेँ मैले ।

‘नाँई गइएन । पैसै छैन’, मकै लिन अस्वीकार गर्दै जवाफ दिए उनले ।

महोत्तरीको पोखरभिन्डा सग्रामपुर गाउँ रहेछ उनको । नाम, रामनारायण राम । उमेर, ५५ । काठमाडौँको सडकपेटीमा यसैगरी जुत्ता सिउन थालेकै २२ वर्षभन्दा बेसी भएछ । आफू सहित नौ जनाको परिवार छ उनको । ६ छोरी, एक छोरा ।

‘६ छोरी ?’, आश्चर्य जनाउँदै सोधेँ मैले, ‘श्रीमती कति नि ?’

‘श्रीमती त एउटी नै हो । छोराको आशले धेरै छोरी भए ।’, निसंकोच भने उनले ।

चार छोरीको त बिहे नै गरिदिइसकेका रहेछन् । दुई छोरी पनि विवाह पर्खिबसेका छन् । छोरालाई मात्र स्कुल पठाएका रैछन् ।

‘पैसै छैन ।’, छोरीहरुलाई स्कुल नपठाउनुको कारण बताए उनले ।

‘सरकारी स्कुलमा त सित्तैमा पढाइ हुन्छ नी !’, प्रश्न गइहाल्यो ।

‘किताब, कापी त किन्नुपर्यो‍’, अहिले भने अलि लजाएजस्तो भए ।

जान सात सय। आउन सात सय। चौध सय भइहाल्यो। बाटोमा खान पनि पर्‍यो। आउँदाजाँदा नै दुई हजार लाग्छ। फेरि रित्तै हात घर जानु पनि त भएन ! चार जना साथी भएर बस्दा रहेछन् यहाँ, चारहजार कोठभाडाको कोठामा । खान पनि पर्‍यो, घरमा पठाउन पनि पर्‍यो। महिनाको दसबाह्र हजार त कमाइ हुन्छ।

हिसाब गर्दागर्दै मेरो हातको आधा मकै उनको हातमा पुगिसकेको थियो । र, म उनले सामान राख्ने काठको डब्बालाई कुर्सी बनाउन सफल भइसकेको थिएँ । तर, पैसा

नहुनु मात्र भोट हाल्न नजाने कारण थिएन ।

‘पहिला त दिएकै हो नी । दीपनारायण साहलाई जिताएकै हो । केही गरेन ।’, बल्ल तितो पोखे रामनारायण रामले ।

‘के गर्छु भन्थे ?’, – सोधेँ मैले ।

‘घर बनाइदिन्छु भन्थे । खाना दिन्छौं भन्थे । अस्पताल पुर्‍याइदिन्छु भन्थे । केही पनि गरेनन् । केही नगर्ने चुनावमा भोट हाल्न किन जानु ?’, अहिले भने

रामनारायण रामको मुहारमा उदासी छायो । उनी चुपचाप बसे । एकैछिन टोलाएजस्तो गरे ।

‘सरकारले केही गर्दिन्छ भन्ने आशा लाग्छ ?’, प्रश्न सोधियो ।

‘के गर्ने ? केही गर्दैन’, ढुक्क देखिए उनी ।

‘आजको दिन पनि पसल थापेर पैसा कमाछस् हैन ?’, अचानक आएको स्त्री आवाजले हामी दुवै झस्कियौँ । आफ्नै भाषा टाठो स्वरमा बोल्ने उनी रहिछन्, सुनाना जयसवाल । रामनारायणसँग उमेर र जिल्ला दुवै मिल्ने । उनी पनि गइनछन् भोट हाल्न ।

‘भोट हालेर के हुन्छ ? सरकारले केही दिन्छ ? सरकारले त उल्टो लिन्छ’, तिखो आवाजमा आक्रोश पोखिन् उनले, मानौँ, उनले भनेको सरकार मै हुँ ।

‘जन्मदर्ता गर्दा पनि पैसा लिन्छ सरकारले त । त्यस्तोलाई भोट हाल्न किन जानु ?’

एक्लो छोरा, बुहारी र नातिनी सहित जयसवाल दम्पती नै बस्दोरहेछ यहाँ । श्रीमान्ले केके लेख्दै बेच्दै गर्छ । के गर्छ उनलाई थाहा छैन । पैसा खासै कमाउँदैन, दुखेसो छ उनको । छोराको पनि ‘हेमोपेथी’ (हेमोपेथिक क्लिनिक) छ तर चल्दैन । पाँच जनाको परिवार पनि दुःखले चलेको छ ।

‘अनि भोट हाल्नैका लागि किन पैसा खर्च गर्नु ?’, महोत्तरीको गौशाला, फुलकाहा गाउँकी सुनाना जयसवालले यसरी भनिन् मानौं, पैसा नभई भोट हालिँदैन ।

कमजोर आशा
हामी देशका सन्तान हौँ भन्ने सुनीलकुमार ज्ञवाली, राजनीति बिग्रियो भन्ने नवराज तण्डुकार अनि भोट नै हाल्न नजाने रामनारायण राम र सुनाना जयसवाल नेपाली जनमानसका प्रतिनिधी पात्र होलान्, नहोलान् । तर, यी चार पात्रले नेपाली समाजको चिन्तन प्रकृति भने झल्काउँछन् । ज्ञवालीले भोट कुनै अधिकार सम्झेर होइन कर्तव्य मात्र ठानेर दिइरहेछन् । चाहे जुनसुकै चुनाव होस्, उनको एक भोट मतबाकसमा खस्छ । तण्डुकारलाई पनि कुनै उत्साह छैन । राजनीतिले गरिखान्छ भन्ने लाग्दैलाग्दैन । तै पनि भोट हाल्छन् । सायद, नहाल्नुको विकल्प पनि देखेका छैनन् । भनेका थिए, ‘भोट नदिएर के गर्नु ?’

के त्यसोभए यो मतदान, यो चुनाव, यो उल्लास र यो उत्साह पनि केवल एक प्रक्रिया मात्रै हो ? के यसका अरु कुनै अर्थ छैनन् ? मैले फोन गरेर सोधेको थिएँ, मानवशास्त्री सुरेश ढकाललाई । मेरो घडीमा ४ः५० हुँदै गर्दा फोन उठाएका ढकालले पाँच मिनेट अघिमात्रै भोट खसाएको बताए । उनलाई दुई मिनेट पनि लागेनछ मतदान केन्द्र भित्र छिरेर भोट खसाई बाहिर निस्कन । अर्थात्, मतदान केन्द्र शान्त मात्र होइन खालीखाली पनि थियो । उनले किन समय घर्किने बेलामा मात्रै भोट हाले ? प्रश्न यो पनि हुनसक्थ्यो । सायद उनका जवाफमै भेटिन्छन् यसका कारण पनि ।

ढकाललाई यो चुनावको अर्थ राम्रैसँग थाहा छ । आजसम्म भएका सबै परिवर्तनलाई संस्थागत गर्ने र नयाँ संविधानको कार्यान्वयन हुने चुनावको रुपमा लिन्छन् उनी । तर, चुनावी दौरानमा देखिएका दृश्यबाट उनी सन्तुष्ट छैनन् । भन्छन्, ‘नयाँ पद्दति, नयाँ प्रणाली कसरी स्थापित हुन्छ भन्ने नै बताइएन । मतपत्रमा छाप कसरी हान्ने सम्म सिकाइयो तर केका लागि मत दिँदैछौँ भन्ने सिकाइएन । मतदाता शिक्षा नै पुगेन ।’

त्यसो त राजनीतिक दलहरुले दिएका आश्वासन र नारामै उनी असन्तुष्ट छन् । ‘नयाँ पद्दतिमा कसरी काम गरिन्छ, केके गर्ने हो भन्नुको साटो राजनीतिक दलका उम्मेदवारहरुले संवृद्धि र विकासको नारामात्र दिए’, ढकालले भने, ‘पद्दति नयाँ भए पनि चिन्तन पुरानै देखियो ।’

उनको विचारमा संवृद्धिको नारा ‘भयंकर ठूलो भुलभुलैया हो ।’

‘राजनीतिलाई अपराधीकरण गरेर केवल विकास र संवृद्धिको मात्र आश्वासन दिनु भयंकर ठूलो भुलभुलैया हो’, ढकालले भने ।

राजनीतिशास्त्री लोकराज बरालले पनि चुनावलाई मात्र लोकतन्त्रको रुपमा लिन नहुने धारणा राखे । ‘आजको लागि चुनाव सफल हुनु नै ठूलो होला तर चुनाव मात्र लोकतन्त्र होइन ?’, बरालले टेलिफोनमा भने ।

बरालको विचारमा लोकतन्त्रलाई स्थापित गर्न धेरै काम गर्नै बाँकी छ । ‘अब स्थायी सरकार बन्छ कि बन्दैन ? बने पनि त्यो काम गर्न सक्षम हुन्छ कि हुँदैन ?’, बरालले प्रश्नको सूची नै पढे ।

राजनीतिक दलहरुले लोकतन्त्र स्थापित गर्लान् भन्नेमा सन्देह राख्छन् प्राध्यापक बराल । ‘राजनीतिक दलहरुको भूमिकाप्रति नै सन्देह छ उनको । ‘राजनीतिक दलहरुको भूमिका, संस्कार र विकृति हेर्दा धेरै आशा गर्नै सकिँदैन’, बराल भन्छन्, ‘उनीहरुले लोकतन्त्रलाई पैसातन्त्र जस्तो बनाएका छन् ।’

आशा गर्ने ठाउँ कम हुँदाहुँदै पनि बरालले नै भनेजस्तो यो निर्वाचन सम्पूर्ण संक्रमणकालीन समयलाई स्थीरतातिर लैजाने ‘लजिकल रिजल्ट’ भने हुनसक्छ । हेरौँ, मत परिणामले कताकता पुर्‍याउँछ । अब त देश मतगणनातर्फ लागिसकेको छ । अब केही दिनका लागि सञ्चारमाध्यमहरु भोटको अंकगणितमा भुलिरहेका हुनेछन् ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्