प्रदेश ७ मा पनि बाम गठबन्धन अगाडि

पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्बर ७ का चार जिल्लाहरुमा बामबठन्धनले अग्रता लिएको छ।

४ वटा प्रतिनिधिसभा सदस्य र ८ वटा प्रदेशसभा सदस्यका लागि जारी मतगणनामा बाम गठवन्धनको बर्चस्व देखिएको हो।

बाजुरा जिल्लामा भने कांग्रेसले अग्रता लिएको छ। बाँकी तीन वटा प्रतिनिधिसभाका क्षेत्रमा वाम गठवन्धन अगाडि छ। बझाङमा एमालेका भैरवबहादुर रावल २४ हजार ३५ मतका साथमा अग्रस्थानमा छन् भने कांग्रेसका पुथ्वीबहादुर सिंह १९ हजार १ सय ५३ मतले पच्छ्याइरहेका छन्।

दार्चुलामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार गणेशसिह ठगुन्ना ११ हजार ८ सय ४९ मतका साथमा अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बिक्रमसिंह धामी ८ हजार १ सय ४७ मतका साथमा पच्छ्याइरहेका छन्। बैतडीमा पूर्वमन्त्री र वर्तमान मन्त्रीबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतिनिधिसभामा एमालेका नेता पूर्वराज्यमन्त्री दामोदर भण्डारीले ८ हजार ६ सय ३१ मत पाएका छन्। वर्तमान राज्यमन्त्री कांग्रेस नेता नरबहादुर चन्दले ६ हजार ८ सय ४४ मत पाएका छन्। बाजुरामा प्रतिनिधिसभामा कांग्रेसका कविराज पण्डितले ५ हजार ९ सय ६ मत पाएका छन् भने नेकपा एमालेका लालबहादुर थापाले ५ हजार ३ सय ७ मत पाएका छन्।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्