बाम गठबन्धन २९ ठाउँमा विजयी हुँदा कांग्रेस ३
काठमाडौं- आम निर्वाचनका दुवै चरणका मत परिणामहरू सावर्जनिक हुने क्रम जारी छ। देशका केही स्थानमा बाहेक सबै जिल्लामा मतगणना सुरू भइसकेको छ। मत परिणामको सुरूवाती नतिजाले बाम गठबन्धनलाई अगाडि देखाएको छ। शुक्रबार रातिसम्म वाम गठबन्धन विजयी अभियानको रेसमा देखिन्छ । वाम गठबन्धनको एक पार्टी नेकपा (एमाले) मात्रै प्रतिनिधिसभातर्फ ७ ठाउँबाट विजय भएको छ। त्यस्तै वाम गठबन्धनकै नेकपा (माओवादी केन्द्र)ले पनि प्रतिनिधिसभातर्फ एउटा स्थान हासिल गरिसकेको छ ।
वामगठबन्धनले प्रतिनिधिसभातर्फ ८ स्थानमा विजय हासिल गर्दा पनि उसको प्रखर प्रतिद्वन्द्वि मानिएको नेपाली काँग्रेसले एउटा पनि स्थानमा विजय हासिल गर्न सकेको छैन । बरू, हुम्लाका बागी उम्मेदवार छक्क बहादुर लामा स्वतन्त्र रूपमै विजय पाउन सफल भए ।
एमालेको तर्फबाट प्रतिनिधिसभामा डोल्पाबाट धनबहादुर बुढाल, बाजुराबाट लालबहादुर थापा, मुगुबाट गोपाल बम, म्याग्दीका भूपेन्द्रबहादुर थापा, मुस्ताङका प्रेमप्रसाद तुलाचन र मनाङका पाल्देन छोपाङले विजय हात पारे। त्यस्तै माओवादी केन्द्रकी रूकुम पूर्वकी कमला रोकाले विजय हासिल गरिन् । उनी अहिलेसम्म प्रतिनिधी सभाका लागि निर्वाचित एक मात्र महिला हुन् । यी सबैजसो स्थानमा नेपाली काँग्रेस
निकटतम प्रतिद्वन्द्वी बन्यो ।
त्यस्तै प्रदेश सभा तर्फ पनि वाम गठबन्धन नै अगाडि छ । प्रदेश सभामा एमालेले ८ ठाउँमा विजय हासिल गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ६ ठाउँमा हासिल गरेको छ । माओवादी केन्द्रले प्रदेश रूकुमको १ (क)मा तेजबहादुर वलि, सोही रूकुम १(ख) कै पूर्णबहादुर घर्ति मगर, धादिङ २ (ख)का जगतबहादुर सिंखडा, म्याग्दी १(क)का विनोद केसी, जुम्ला १(क)का नरेश भण्डारी र प्रदेश नं. ६ को रूकुम १ (क)का रातो कामीले जित हासिल गरेका हुन् । एमालेको तर्फबाट भने म्याग्दी १(ख)का नरदेवी पुन मगर, हुम्ला १(क)का दल रावल, जुम्ला १(ख)का पदमबहादुर रोकाया, बाजुराका १(ख)का प्रकाशबहादुर शाह, मुस्ताङ १(क)का इन्द्र धारा डादु विष्ट, मुस्ताङ १(ख) महेन्द्रबहादुर थकाली, डोल्पा १(क)का नन्दसिंह बुढा, कालिकोट १(क)का कुर्मराज शाही र बाजुरा १(क)का बलदेव रेग्मीले जित हासिल गरेका छन् ।
नेपाली काँग्रेसले भने प्रदेश सभाका लागि तीन स्थानमा विजय प्राप्त गरेको छ । नेपाली काँग्रेसका तर्फबाट हुम्ला १(ख)का जीवनबहादुर शाही, मनाङ १(क)का चिन्त बहादुर घले, रसुवा १(क)का प्रभात तामाङले विजय प्राप्त गरेका हुन् ।
मतगणनामा वाम गठबन्धनले नै अग्रता लिएका छन् । प्रतिनिधिसभा तर्फ नेकपा (एमाले)ले ५५ जिल्ला र नेकपा (माओवादी केन्द्र)ले २० जिल्लामा अग्रता लिएका छन् । नेपाली काँग्रेसले भने १२ जिल्लामा मात्रै अग्रता लिएको छ । प्रदेश सभा तर्फ पनि नेकपा (एमाले)ले ४२ र नेकपा (माओवादी केन्द्र)ले ३३ ठाउँमा अग्रता लिइरहेछन् । नेपाली काँग्रेसले भने केवल १० स्थानमा अग्रता लिएको छ।