झापाका सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारको अग्रता

विर्तामोड-झापाका सबै निर्वाचन क्षेत्रमा बाम गठबन्धन तथा उसका समर्थित दलका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबार अपरान्हदेखि सुरु भएको मतगणनाको सुरुवाती बेलादेखि नै बाम गठबन्धन तथा उसले समर्थन गरेका उम्मेदवारहरुले अग्रता लिएका हुन् ।

झापाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका नेता पूर्व सञ्‍चारमन्त्री सुरेन्द्रकुमार कार्की र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माको प्रतिष्पर्धा छ । कार्की ८ सय भन्दा बढी मत अन्तरले अगाडि छन्।

त्यसैगरी प्रदेश सभा सदस्यका लागि क्षेत्र ‘क’ मा कांग्रेसका उम्मेदवार केशव पाण्डे भन्दा बाम गठबन्धनका उम्मेदवार श्रीप्रसाद मैनाली अग्र स्थानमा छन् । त्यस्तै क्षेत्र ‘ख’ मा कांग्रेसका अशोक पोखरेल भन्दा बाम गठबन्धनका गोपाल बुढाथोकीले अग्रता लिइरहेका छन्।

निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा र माओवादी केन्द्र समर्थित नेकपा एमालेकी उम्मेदवार पवित्रा निरौला खरेलबीच प्रतिष्पर्धा छ। यहाँ पनि खरेलले अग्रता लिइरहेकी छिन्। प्रदेश सभा तर्फ पनि बाम गठबन्धनका उम्मेदवारहरुले सुरुवातदेखि नै अग्रता लिएका छन् ।

क्षेत्र नं ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र बाम गठबन्धन समर्थित राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनबीच प्रतिष्पर्धा छ। सिटौलालाई लिङदेनले उछिन्दैछन्। उक्त क्षेत्रमा पनि प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन्।

क्षेत्र नं ४ मा प्रतिनिधि सभाका लागि बाम गठबन्धनका उम्मेदवार लालप्रसाद साँवाले नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबेलाई उछिनिरहेका छन्। उक्त क्षेत्रमा पनि प्रदेश सभाका लागि बाम गठबन्धनका उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई उछिन्दैछन्। क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारी मतान्तरले कांग्रेसका डा. खगेन्द्र अधिकारी भन्दा अगाडि छन्।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्