जितेपछि लालबाबुले भने, जनताको शीर निहुरिन दिनेछैन

मोरङ- आफ्नो जित मोरङ क्षेत्र नम्बर ६ को मात्र नभएर सबै बामघटकको जित भएको प्रतिनिधिसभा सदस्य अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ का विजयी उम्मेद्वार लालबाबु पण्डितले बताएका छन् । देशसञ्चारसँग संक्षिप्त कुराकानी गर्दै बामगठबन्धनका संयुक्त उम्मेद्वार पण्डितले भने, ‘मलाई जनताले जिताएका छन्, उनीहरुको शीर निहुराउने छैन।’ ३३ हजार ९ सय ४१ मतसहित विजयी भएका पण्डितले मतदाताले आफूलाई विश्वास गरेको बताएका छन्।

‘मतदाताले विश्वासका साथ मलाई चुनेका छन्, उनीहरुको विश्‍वास, इज्जतप्रति शिर निहुराउने काम मबाट हुनेछैन,’ ६ सय ७५ मत अन्तरले कांग्रेसका नेता डा. शेखर कोइरालामाथि जित हातपारेका पण्डितले हँसिलो मुद्रामा भने। मोरङका ६ निर्वाचन क्षेत्रमा बामघटकको अग्रताप्रति पण्डितले भने, ‘यो क्षेत्रमा यसपटक सूर्य उदाएको छ, अब को पराजित भन्नेतर्फ मेरो ध्यान हुनेछैन, म सबैलाई समेटेर अघि बढ्छु।’

एमालेको पोलिटव्यूरो सदस्य पण्डितले प्रदेशको राजधानी विराटनगर नै हुनेमा जोडदिएका छन् । पण्डित यसअघि २०४८ र २०५६ सालको आम निर्वाचनमा मोरङको क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए।

३३ हजार २ सय ६६ मत हात पार्दै पराजित भएका कांग्रेसका नेता डा. शेखर कोइरालाले आफु मुलुकको सम्बृद्धि र लोकतन्त्र संस्थागतका लागि अविचलित भएर जनतामाझ रहने बताएका छन् । जित हार प्राविधिक विषय भएको जनाउदै डा. कोइरालाले जनताको माया ममता, सद्‍भाव रहदारहदै पनि निर्वाचनबाट आएको परिणामलाई सहजरुपमा लिएको बताए ।

२०६४ साल मोरङ क्षेत्र नम्बर ७ को उपनिर्वाचन, र २०७० सालको निर्वाचनमा सहज जित हात पारेका डा. कोइरालाले यस क्षेत्र लगायत समग्र स्थानमा निर्वाचित सांसदहरुमा बधाई दिएका छन्।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्