बाम गठबन्धनको जुलुसमा छतछतमा भिड

बाजुरा सदरमुकाम मार्तडीमा विजयपछि बाम गठबन्धनले निकालेको जुलुस। तस्बिर: देशसञ्चार।

बाजुरा- बाम गठबन्धनले बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा विजयजुलुस निकालेको छ। प्रतिनिधिसभाको एक र प्रदेश सभाको दुई सिटमा बाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेपछि नेकपा एमाले र माओवादी केन्द्रले विजयी र्‍याली निकालेका हुन्।

प्रतिनिधि सभामा गठबन्धन उम्मेदवार लालबहादुर थापाले नेपाली कांग्रेसका उम्मेदवार कविराज पण्डितलाई पराजित गरेका थिए।

गठबन्धनमा एमालेको तर्फबाट उम्मेदवार भएका थापाले २८ हजार ६५ मत ल्याउँदा कांग्रेस उम्मेदवार पण्डितले २३ हजार १८१ मत ल्याएका थिए।

यस्तै प्रदेश सभा ‘क’ मा बाम गठबन्धनका उम्मेदवार बलदेव रेग्मीले  नेपाली कांग्रेसका उम्मेदवार जनक राज गिरीलाई पराजित गरेका थिए।

गठबन्धनमा एमालेको तर्फबाट उम्मेदवार भएका रेग्मीले ९ हजार ८४० ल्याई विजयी हुँदा कांग्रेस उम्मेदवार गिरीले ८ हजार ३११ मत ल्याएका थिए।

प्रदेश सभा ‘ख’ मा पनि बाम गठबन्धनकै उम्मेदवार विजयी भएका थिए।

गठबन्धनका उम्मेदवार प्रकाश बहादुर शाहले नेपाली कांग्रेसका उम्मेदवार पदम बहादुर शाहीलाई पराजित गरेका छन्।

गठबन्धनमा एमालेको तर्फबाट उम्मेदवार भएका शाहले १८ हजार १८६ मत ल्याउँदा कांग्रेसका शाहीले १४ हजार ९७७ मत ल्याएका थिए।

२०७० मा सम्पन्न भएको दोश्रो संविधान सभा निर्वाचनमा बाजुराबाट एमालेका नेता कर्ण बहादुर थापा विजयी भएका थिए।

अहिलेको निर्वाचनमा प्रदेश सभाबाट समानुपातिक उम्मेदवार रहेका थापालाई प्रदेश नम्बर सातको मुख्य मन्त्रीको दावेदारको रुपमा हेरिएको छ।

मंसिर २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्