नराम्ररी पछारिएका यी हस्तीहरु
काठमाडौं– बाम गठबन्धनले सखाप पार्दा प्रतिनिधिसभाका लागि चुनाव लडेका हेभीवेट नेताहरु नमज्जाले पछारिए। यस्तो नतिजा भोग्नुपर्ला भनेर चिताउँदै नचिताएका नेताहरुलाई छविमा यो चुनावले ठूलो धक्का दिएको छ।
२०४६ सालको प्रजातन्त्र पुनर्स्थापनापछि पराजय नै नभोगेका नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर एकमा पराजित भएका छन्। कांग्रेसको गढ नै मानिने तनहुँमा उनलाई बामगठबन्धनका कृष्णकुमार श्रेष्ठले पछारेका हुन्। कांग्रेसको उपसभापति भइसकेका पौडेल पटकपटक मन्त्री र उपप्रधानमन्त्री भएका छन्। उनले २१ हजार दुइ सय ६५ मत ल्याएका छन् भने उनलाई हराउने कृष्णकुमारले २६ हजार २ सय ३७ मत ल्याएका छन्।
धेरैको चासोको विषय रहेको गोर्खा क्षेत्र नम्बर २ को मत परिणामले माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई ठूलो झट्का दियो। आफ्नै पार्टीबाट छुट्टिएर गएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई जित्छु भनेर सोच्नु नै उनका लागि गलत सावित भयो। करिब आठ हजारको मतान्तरले बाबुरामले नारायणकाजीलाई पछारे।
छपटक अर्थमन्त्री र एकपटक परराष्ट्रमन्त्री भएका कांग्रेस नेता डा. रामशरण महत नुवाकोट क्षेत्रनम्बर एकमा पराजित भए। उनलाई बामगठबन्धनका हितबहादुर तामाङले हराए।
राजनीतिमा चतुर खेलाडी मानिने अर्जुननरसिंह केसी नुवाकोटमै पछारिए। नुवाकोट क्षेत्र नम्बर दुईमा उनलाई बामगठबन्धनका नारायणप्रसाद खतिवडाले पछारे। केसीलाई खतिवडाले दशहजारभन्दा बढी मतले पछि पारे। पञ्चायतदेखि नै शक्तिमा रहँदै आएका केसी बहुदल आएपछि पनि पटकपटक मन्त्री भएका थिए। उनी कांग्रेसका केन्द्रीयस्तरका नेता हुन्।
२०४८ सालको संसदका सभामुख कांग्रेस नेता दमननाथ ढुंगाना भक्तपुर क्षेत्रनम्बर २ बाट बामगठबन्धनका महेश बस्नेतसँग ११ हजारभन्दा बढी मतले पराजित भए। पूर्वमन्त्री बस्नेत एमाले अध्यक्ष खड्ग ओलीका विश्वासपात्र हुन्।
उता कोइराला परिवारको राजनीतिक विरासत थाम्ने अनुमान गरिएका शेखर कोइराला मोरङ क्षेत्रनम्बर छबाट पराजित भए। उनलाई एमालेका लालबाबु पण्डितले झिनो मतान्तरले पछारे। लालबाबुले ३३ हजार नौ सय ४१ मत पाएका छन् भने शेखरले ३३ हजार २ सय ६६ मत पाए।
त्यस्तै २०४८ सालका पहिलो अर्थमन्त्री महेश आचार्य पनि मोरङबाटै चिप्लिए। मोरङ क्षेत्र नम्बर चारमा उनले बामगठबन्धनका अमनलाल मोदीसँग पराजित हुनुपर्यो।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकबाट पछारिए। उनी पनि पटकपटक मन्त्री भएका नेता हुन्। सिन्धुपाल्चोक क्षेत्रनम्बर दुइमा उनलाई बामगठबन्धनका शेरबहादुर तामाङले आठ हजारभन्दा बढी मतले हराए।
पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका छोरा तथा राप्रपा प्रजातान्त्रिकका नेता सुनीलबहादुर थापा धनकुटाबाट पराजित भए। बहालवाला मन्त्री थापालाई बामगठबन्धनका राजेन्द्रकुमार राईले हराएका हुन्। थापा करिब ११ हजार मतान्तरले पछारिए ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा मकवानपुरबाट हारे। मकवानपुर क्षेत्र नम्बर १ मा उनलाई बामगठबन्धनका कृष्णप्रसाद दाहालले पराजित गरे।
बहालवाला सञ्चारमन्त्री मोहन बस्नेतलाई माओवादी केन्द्रका नेता तथा पूर्व संचारमन्त्री अग्नि सापकोटाले हराए । सिन्धुपाल्चोक क्षेत्रनम्बर १ मा कांग्रेस नेता बस्नेतलाई बामगठबन्धनका सापकोटाले दश हजारभन्दा बढी मतले पछारे। धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेस उपसभापति विमलेन्द्र निधीलाई राजपा नेता राजेन्द्र महतोले हराए।
कांग्रेसका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ मा बामगठबन्धनका ध्रुवकुमार शाहीसँग पराजित भएका छन्। पूर्वगृहमन्त्री समेत रहेका खड्कालाई शाहीले तीन हजारभन्दा बढी मतले पछि पारेका हुन्।