दाङमा डिल्ली चौधरीले जोगाए कांग्रेसको बीउ
दाङ–दाङमा बाम गठबन्धनले नौमध्ये आठ स्थानमा विजय हासिल गर्ने पक्का भएको छ। निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म आठ स्थानको मतपरिणाम सार्वजनिक भएको छ।
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । निर्वाचनका लागि १० वर्षपछि दाङ झरेका नेता महरा ४० हजार ४२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उमेदवार राजु खनालले २५ हजार आठ सय ९७ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेका जिल्ला सचिव हिराचन्द्र केसीले निर्वाचन क्षेत्र नम्बर ३ मा विजय हासिल गरेका छन्। उनी ४० हजार दुई सय ८७ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले ३३ हजार सात सय ३० मत प्राप्त गरेका छन्।
जिल्लामा रहेका छ प्रदेश निर्वाचन अन्तर्गत पाँच वटामा बाम गठबन्धनका उमेदवारले जितेका छन् भने एक निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ को १ मा इन्द्रजित थारु १७ हजार दुई सय ८५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उमेदवार प्रदिप थापाले ११ हजार तीन सय ९२ मत ल्याएका छन्।
त्यसैगरी प्रदेशसभा २ मा बाम गठबन्धनका रेवतीरमण शर्मा १९ हजार तीन सय ५४ ल्याएर विजयी भए भने प्रतिष्पर्धी नेपाली कांग्रेसका जानकीलाल बस्नेतले १२ हजार सात सय ५३ मत ल्याएका थिए।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा १ मा शंकर पोख्रेल २० हजार ७ सय २३ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १ सय ७२ मत ल्याएका थिए। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर दुईकै प्रदेशसभा २ मा विजयी भएका अमरबहादुर डाँगीले २१ हजार ४ सय ५० मत ल्याए भने डाँगीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतबहादुर न्यौपानेलाई ८ हजार २ सय ६० मत अन्तरले पराजित गराएका हुन्।
निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेस उम्मेदवार डिल्लीबहादुर चौधरी १७ हजार ३६ मत ल्याएर विजयी भए भने बाम गठबन्धनका उम्मेदवार जगप्रसाद शर्माले १४ हजार सात सय मत ल्याएका थिए। त्यसैगरी प्रदेशसभा २ मा बाम गठबन्धनका उम्मेदवार उत्तरकुमार वलीले २३ हजार नौ सय ७० मत ल्याएर विजयी भएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार बुद्धिराम भण्डारी १७ हजार पाँच सय ३४ मत ल्याएर पराजय भएका छन्।
प्रतिनिधिसभा १ को मत परिणाम भने सार्वजनिक हुन बाँकी छ। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। दाङमा रहेको निर्वाचन क्षेत्र नम्बर १ को अब करिव १५ हजार मत गनणा गर्न बाँकी छ। यसक्षेत्रमा नेकपा एमालेका नेता मेटमणी चौधरी अगाडि छन्।
निलबाट बचाउने एक्ला उमेदवार
दाङ नेपाली कांग्रेसको गढका रुपमा लिइन्छ। यसपटक बाम गठबन्धन भएपछि एक्लिएको नेपाली कांग्रेसले दाङमा उल्लेख्य प्रगति गर्न नसके पनि निल हुनबाट श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले जोगाएका छन्। चौधरी काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन्।