प्रतिनिधिसभामा चुनिएका ७४ मध्ये दुईमात्र महिला

काठमाडौँ- मंसिर १० र २१ गते दुई चरणमा सम्पन्‍न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको १६ जिल्लाको मतगणना सम्पन्न भएको छ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाकाअनुसार प्रतिनिधिसभाका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये हालसम्म ७४ क्षेत्रको मतगणना सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्यमा निर्वाचितमध्ये ७२ पुरुष र दुई महिला छन्। यसैगरी प्रदेशसभातर्फ ३ सय ३० निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको मतगणना सकिएको छ जसमा १५३ पुरुष र आठ महिला निर्वाचित भएका छन्।

आयोगका अनुसार पहिलो चरणमा निर्वाचन भएका जिल्लामध्ये रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा र बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना पनि समाप्त भएको छ भने आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ।

समानुपातिकतर्फको मतगणना जारी रहेका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, बैतडी र दार्चुला छन् । मंसिर २१ गते दुई वटा मतदान केन्द्रमा मतदान स्थगन भई शनिबार पुनःमतदान भएपछि अर्घाखाँची जिल्लाको मतगणना गए रातिदेखि शुरु भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

दलबीचको विवादका कारण मतणना शुरु हुन नसकेको स्याङ्जा जिल्लाको मतगणना आइतबार बिहान १०:३० बजेदेखि सुरु भएको जनाइएको छ । रासस

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्