राजावादी लिङदेनसँग किन हारे गणतन्त्रवादी सिटौला?

विर्तामोड- प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनसँग पराजित भएका छन्। झापा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनलाई सघाउने र सिटौलालाई समानुपातिक सूचीबाट प्रतिनिधिसभामा ल्याउने पार्टीको निर्णयविपरीत सिटौला आफूलाई जनताले जिताउने भन्दै प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए।
अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३१ हजार १ सय ५९ मत ल्याए भने वाम गठबन्धनको समर्थन पाएका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए। समानुपातिक निर्वाचन प्रणालीको सूचीमा एक नम्बरमा परेका सिटौलालाई झापा क्षेत्र नं. ३ का कांग्रेस कार्यकर्ताले प्रत्यक्ष निर्वाचन लड्न अनुरोध गरेपछि उनी चुनावमा लिङदेनसँग भिडेका थिए।
उनले मनोनयन दर्ता गर्ने दिन भनेका थिए, ‘मैले देशका लागि, गणतन्त्रका लागि धेरै गरें। फेरि मलाई नसोधी राप्रपासँग गठबन्धन गरेर मलाई समानुपातिक सूचीमा राख्ने अधिकार कसले दियो भनेर पार्टी नेतृत्वलाई प्रश्न गरें। त्यसपछि म राप्रपाको झोला बोक्नुभन्दा आफैं चुनाव लड्छु भनेर आएको हुँ ।’
झापा ३ का गणतन्त्रबादीहरुले सिटौलालाई भोट दिने भनेर बचन दिएका कारण सोही आशले उनी प्रत्यक्ष चुनाव लड्न राजी भएको कतिपय जानकारहरु बताउँछन् । ‘म लोकतन्त्रबादी हुँ त्यसैले राजावादीलाई लोकतन्त्रवादीले भोट हाल्दैनन्’ भन्ने आशामा चुनाव लडेका सिटौला ‘राजावादी’ भनेर चिनिएको राप्रपाका महामन्त्री लिङदेनसँग पराजित हुन पुगेको नेपाल प्रेस युनियनका पूर्व सचिव चिन्तामणि दहालको भनाइ छ।
दाहालले भने, ‘कांग्रेसको जति मत थियो त्यो आएकै हो। तर हामी तपाईंलाई सघाउँछौं भन्नेहरुले भोट नदिएका कारण सिटौलाले हार व्यहोर्नु पर्यो।’ उनले तथ्यांकका आधारमा म हार्दैछु भन्ने कुरा सिटौलालाई पूर्वजानकारी भएको बताए। सिटौला संविधान सभाको पहिलो निर्वाचनमा माओवादी उम्मेदवार पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए।
२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा लिङ्देन उनका निकटतम प्रतिस्पर्धी थिए । यो पटकको प्रतिनिधि सभा निर्वाचनमा उनै लिङदेनसँग हार व्यहोर्नुपर्यो। तथ्यांकका आधारमा पनि यस पटक लिङदेन बलियो उम्मेदवार थिए । त्यसमाथि पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बलियो समर्थन उनलाई थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई पटक उनको क्षेत्रमा गएर उनका लागि भोट मागिदिएका थिए । जितपछि लिङ्देनले अबको बाटो आर्थिक विकासको भएको बताएका छन्। उनले भने, ‘निकै पिछडिएको मेरो क्षेत्रका जनताले परिवर्तन चाहेका छन् । विकास चाहेका छन्। त्यो म पूरा गर्छु । अब देशलाई आर्थिक विकासतर्फ लैजानु छ । त्यतातिर मेरो ध्यान जानेछ ।’