मोरङका विजेताहरु जब सडकमा निस्किए

विजय र्‍यालीमा माेरङबाट जितेका बाम गठबन्धनका नेताहरु। तस्बिर: देशसञ्चार।

विराटनगर
प्रदेश नम्बर एकको राजधानी विराटनगर नै हुनेमा विश्वस्त हुन संयुक्त बामगठबन्धनका नेताहरुले आग्रह गरेका छन्। मोरङ जिल्लाको ५ निर्वाचन क्षेत्रमा जित हात पारेको बामगठबन्धनद्वारा आइतबार विराटनगरको जनआन्दोलन चौकमा आयोजित कोणसभामा विजेता नेताहरुले उक्त कुरा बताएका हुन्।

क्षेत्र नम्बर ६ बाट विजयी भएका एमालेका नेता लालबाबु पण्डितले विराटनगरलाई प्रदेश नम्बर एकको राजधानी हुनबाट कसैले नरोक्ने उद्घोष गरे। निलो रङको ट्रयाकसुट, अबिर र मालाले ढाकिएका पण्डितले भने, ‘विराटनगर अब विकसित, समृद्ध, र बृहत्तर नगर बन्नेछ ।’ यहाँका जनताका लागि आफूहरुले युवा स्वरोजगार, भौतिक पूर्वाधार, आवासको व्यवस्थालगायतका विषयमा केन्द्रित रहने उनले बताए । क्षेत्र नम्बर ६ मा कुल ३३ हजार ९ सय ४१ मत हात पारेका पण्डितले कांग्रेस उम्मेदवार डा. शेखर कोइरालालाई ६ सय ७५ मतको अन्तरले पराजित गरेका थिए।

त्यसैगरी क्षेत्र नम्बर ५ बाट जित हात पारेका पूर्वआपूर्तिमन्त्री शिवकुमार मण्डल केवटले अबको पाँच वर्ष मोरङको भविष्य र विकासको काममा आफूहरु खटिने उल्लेख गरे। वामगठबन्धनको मूल उद्देश्य देशको शान्ति र समृद्धि भएको मण्डलले बताए। वामगठबन्धनले ऐतिहासिक सफलता हासिल गरेको बताउँदै मण्डलले यस सफलताले राजनीतिक संस्कार परिवर्तनलाई गर्दै मुलुक आर्थिक समृद्धिको बाटोतर्फ सफलतापूर्वक अघि बढ्नेमा विश्वस्त रहेको बताए। उनले हिजोको जस्तो देखावटी होइन, आफूहरुलाई जनताले दिएको यो अवसरलाई खेर नफाल्ने प्रतिवद्धता जाहेर गरे । मण्डलले क्षेत्र नम्बर ५ मा २२ हजार ९ सय ३५ मत सहित जित हात पारेका थिए।

क्षेत्र नम्बर ४ बाट जित हात पारेका माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले भने मोरङमा गठबन्धनको जितलाई ऐतिहासिक भएको बताएका छन्। कोणसभालाई सम्बोधन गर्ने क्रममा जनताको सेवक भएर काम गर्ने बताएका मोदीले प्रादेशिक राजधानीका लागि विराटनगरको विकल्प नभएको उल्लेख गर। केही वर्षअघि संसद भवनमा कुर्सी फोडेर चर्चामा आएका मोदीले मोरङलाई आर्थिक उन्नतिको बाटोतर्फ डोर्‍याउने आफूहरुको जिम्मेवारी भएको बताए।

कांग्रेसका उम्मेदवार महेश आचार्यलाई ६ हजार ७ सय २९ मतान्तरले पराजित गरेका थिए। अघिल्लोपटक समानुपातिकबाट सांसद बनेका मोदीले यसपटक भने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ३२ हजार ५ सय २९ मत पाएका थिए।

सडकमा निस्किएका बाम गठबन्धनबाट मोरङमा जित्नेहरु। तस्बिर: देशसञ्चार।

स्थानीय आर्दश विद्यालयबाट निकालिएको विजय जुलुस नगरको परिक्रमा गर्दै जनआन्दोलनमा कोणसभामा टुंगिएको थियो। जहाँ क्षेत्र नम्बर १ का विजयी उम्मेदवार घनश्याम खतिवडा, क्षेत्र नम्बर ३ का उम्मेदवार भानुभक्त ढकाल एवं विभिन्न प्रदेशमा जित हात पारेका उम्मेदवार रहेका थिए। मोरङको ६ वटा क्षेत्रमध्य वामगठबन्धनले ५ स्थानमा र १२ प्रदेशसभा सदस्यमध्ये ७ स्थानमा जित हात पारेको छ।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्