जितेपछि एमाले उपमहासचिव भुसालले देउवालाई धन्यवाद दिए

रुपन्देहीमा अाइतबार विजय र्‍यालीमा सहभागी हुँदै घनश्याम भुसाल। तस्बिर: नरेश केसी

भैरहवा- रुपन्देही क्षेत्र नम्बर तीनबाट सांसद निर्वाचित घनश्याम भुसालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष धन्यवाद दिएका छन्।

नेपाली राजनीतिका चर्चित पात्र बहालवाला स्वास्थ्यमन्त्री दिपक बोहरालाई पराजित गरेसँगै उनले आफ्ना शुभचिन्तकहरुलाई सम्बोधन गर्दै भने, ‘यो निर्वाचनमा सहभागी हुने सबै मतदाता जसले मलाई मत दिएको होस वा अन्य कुनै उम्मेदवार सबैलाई धन्यावाद दिन चाहन्छु। साथै निर्वाचन आयोग, सुरक्षाकर्मी र निर्वाचन सफल पार्न अहोरात्र खट्नुहुने कर्मचारी एवं पत्रकार र सरोकारवाला निकाय जत्ति धन्यवादका पात्र हुनुहुन्छ, त्यो भन्दा बढी प्रधानमन्त्री शेरबहादुर देउवालाइ धन्यवाद दिन चाहन्छु। किनकि उहाँले देशैभर निर्वाचन सम्पन्न गराउनुभयो।’

एमाले उपमहासचिव घनश्याम भुसालले केही दिनमै बाम सरकार बन्नेसमेत बताए । कांग्रेसको समर्थनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष बोहरालाई ५ हजार ४ सय ४४ मतले पराजित गरेर भुसाल सांसद चुनिएका हुन्। भुसालले कुल खसेको ८४ हजार १ सय ६२ मत मध्ये ३२ हजार ८ सय ६६ मत प्राप्त गरी विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका बोहराले २७ हजार ४ सय २२ मत प्राप्त गरेका थिए।

मंसिर २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्