
धनगढी- कैलाली क्षेत्र नम्बर ५ मा पराजित प्रधानमन्त्री पत्नी आरजु राणाले विजयी भएका नारदमुनी रानालाई मन्त्री बनाउन सहयोग गर्ने बताएकी छिन्। धनगढीमा पत्रकार सम्मेलन गर्दै राणाले आफूलाई पराजित गरी विजयी भएका रानालाई अब बन्ने सरकारको मन्त्री बनाउन आफूले पूरा सहयोग गर्ने बताइन्।
उनले बामगठबन्धनको सरकार बने पनि कैलालीका जनतालाई न्याय दिन नारदमुनीलाई मन्त्री बनाइनुपर्ने बताइन्। राणाले पार्टीभित्रको असन्तुष्टि मिलाउन नसक्दा आफूले पराजय भोग्नुपरेको बताइन्। उनले पार्टीकै नेता तथा कार्यकर्ताहरुले असहयोग गरेकोले नतिजा आफ्नो पक्षमा नआएको दाबी गरिन्। यहाँ निवर्तमान सांसद पुष्करनाथ ओझालाई आरजुको विपक्षमा प्रचार गरेको आरोप लागेको तर नेतृ राणाले उनको नाम उल्लेख गरिनन्।
आरजुले आफूलाई मतदान गरेका नगरेका सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिइन्। राणाले कैलालीको विकासका लागि आफू अझै प्रतिबद्ध रहने बताइन्। एमालेका नारदमुनीसँग आरजु ४ हजार ८ सय ८० मतले पराजित भएकी छिन्।