गच्छदारको क्षेत्रमा विवाद, अझै सुरु भएन मतगणना

उपप्रधानमन्त्री विजयकुमार गच्छदारको पक्षमा ९ वटा मतपत्र क्रम संख्यासहितको अर्धकट्टी भेटिएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना कार्य स्थगित भएको छ ।

बाम गठबन्धनकी उम्मेद्वार भगवती चौधरीले सोमबार गणना भइरहँदा उक्त मतपत्र भेटिएपछि तत्काल मतगणना कार्य रोक्न आग्रह गरेकी थिइन्। सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै चौधरीले भनिन्, ‘अर्धकट्टीसहितको मतपत्र फेलापरेपछि त्यसको सिरियल नम्बर हेर्न माग गरेको छु । तर, त्यो मलाई हेर्न दिइएको छैन।’

“हाम्रो आधार क्षेत्र पकड एरिया हुँदाहुँदै उसको लिड हुनु भनेको त पुन निर्वाचनको माग गरिन्छ नि,’ मलिन स्वरमा चौधरीले आफ्नो माग अघि सारिन्।

अर्कोतर्फ क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेलले भने गणना कार्य नरोकिने बताएका छन्। उनले अर्धकट्टीसहितको मतपत्र गोपनीयताका कारण सार्वजनिक गर्न नमिल्ने उल्लेख गर्दै ती मतपत्र गणकहरुले निर्वाचन कार्यालय पठाउने बताए।

मतगणनाका क्रममा सुरुबाटै राम्रो अग्रता बनाएकी चौधरीको बिहानबाट मतान्तर कम हुँदै गएको छ। उपप्रधानमन्त्री विजयकुमार गच्छदारको २९ हजार १ सय ७१ मत छ भने चौधरीको २९ हजार ३ सय २६ मत छ । चौधरीले १ सय ५५ मतले अग्रता बनाइरहेकी छिन् । हाल अझै १८ हजारको संख्यामा मत गन्न बाँकी छ।

घटनापछि मतगणनास्थल इनरुवाको भगवती माध्यामिक विद्यालयमा बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । २०७० सालको दोस्राे चरणको संविधान सभा निर्वाचनमा यी दुवैबीच कडा प्रतिस्पर्धा भएको थियो । विजयकुमार गच्छदारले ३ सय ६२ मतले जित हात पारेका थिए।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्