कैलालीमा रामजनमसँगै कांग्रेस छिरेका जनक पनि हारे

धनगढी-  कैलालीमा रामजनम चौधरीसँगै कांग्रेस छिरेका निवर्तमान सांसद जनक चौधरी पनि प्रदेश सभामा पराजित भएका छन्।

यसअघि विजय गच्छदारको पार्टीबाट कैलाली १ मा चुनाव जितेर सांसद बनेका चौधरीलाई यसपटक नेपाली कांग्रेसले प्रदेश सभाको उम्मेद्वार बनाएको थियो। उनी राजपाका कृष्ण चौधरीसँग पराजित भएका छन्। कृष्ण १२ हजार १ सय ८४ मतले विजयी भए।

दोस्रो स्थानमा रहेका जनकले ९ हजार ३ सय ८ मत पाए। बामगठबन्धनका उम्मेदवार एमालेका लालवीर चौधरीले ३ हजार ७ सय ४७ मत पाए। तीनै जना थारु समुदायका उमेद्वार प्रतिस्पर्धामा थिए। कांग्रेसका उम्मेद्वार जनक चौधरी प्रदेश १ मा पराजित भएका बेला यसअघिको संविधानसभाको निर्वाचनमा उनीसँग हारेका कांग्रेसका रणबहादुर रावल भने प्रदेशसभा २ मा विजयी भएका छन्।

देशभर बामगठबन्धनको लहर छाएका बेला टीकापुरमा भने बामबठबन्धनका उम्मेद्वारहरु निकै पछाडि छन्। यहाँ प्रदेशको एक सिट कांग्रेसले जितेको छ भने एक सिट राजपाले जितेको छ। कैलाली १ मा प्रतिनिधिसभामा भने फरार रहेका राजपाका रेशम चौधरी जितनजिक छन्। उनले प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवार निकै पछाडि पारेका छन्। मोस्ट वान्टेड रेशम अग्रस्थानमा रहेको उक्त ठाउँको मतगणना निकै सुस्त छ ।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्