पोखरा- कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ९ हजार १३ मत बदर भएको छ। हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ५ हजार २ सय १५ र प्रदेशसभातर्फको चुनावमा ३ हजार ७ सय ९८ मत बदर भएको निर्वाचन कार्यालय कास्कीले जनाएको छ।

प्रतिनिधिसभातर्फ खसेको १ लाख ८० हजार ८ सय ४६ मध्ये १ लाख ७५ हजार ६ सय ३१ मत सदर र ५ हजार २ सय १५ मत बदर भएको थियो। यो कुल खसेको मतको २.८८ प्रतिशत हो। त्यसैगरी प्रदेशसभातर्फ १ लाख ८० हजार ८ सय ३ मत खसेकोमा १ लाख ७६ हजार ९ सय २३ मत सदर भएको थियो भने ३ हजार ७ सय ९८ मत बदर थियो। यो खसेको मतको २.१० प्रतिशत हो ।

प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर १ मा ६९ हजार ९८ मत खसेकोमा २.३ प्रतिशत मत बदर भएको छ। यस क्षेत्रमा ६७ हजार ४ सय ८६ मत सदर र १ हजार ६ सय १२ मत बदर भएको छ। क्षेत्र नम्बर २ मा ४९ हजार ९ सय १३ मत खसेकोमा २.९३ मत बदर भएको छ। उक्त क्षेत्रमा ४८ हजार ४ सय ४९ मत सदर र १ हजार ४ सय ६४ मत बदर भएको हो। क्षेत्र नम्बर ३ मा ६१ हजार ८ सय ३५ मत खसेकोमा ३.४६ प्रतिशत मत बदर भएको छ। उक्त क्षेत्रमा ५९ हजार ६ सय ९६ मत सदर र २ हजार १ सय ३९ मत बदर भएको छ।

साक्षरहरुको जिल्ला भनेर चिनिने कास्कीमा ९ हजार १३ मत बदर हुनु आश्चर्यजनक भएको छ। क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले ‘निर्वाचन प्रणाली फरक हुनु, मत पत्रको एक रुपता नहुनु , मत पत्र फरक मत पेटिकामा खसाल्नुका साथै मतदाता शिक्षालाई जोड दिए पनि त्यति प्रभावकारिता नभएका कारण मत बदर भयो। उनले समानुपातिक तर्फ यो संख्या अझै बढ्ने सक्ने बताए।

अहिले कास्कीमा समानुपातिक तर्फको मत गणना जारी रहेको छ । नेकपा एमाले पहिलो स्थानमा छ भने नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी तेस्रो स्थानमा देखिएका छन् भने विवेकशील साझा चौथो स्थानमा रहेको सुवेदीले जानकारी दिए।

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्