दाङमा भेटिए थरिथरिका मतपत्र, २५ हजार मत बदर 

दाङ– एउटै मतपत्रका धेरै चुनाव चिन्हमा छाप लगाएको, औँठाछाप लगाएको, फरकफरक मतपेटिकामा मतपत्र खसाएको र केहीमा नो भोट लेखिएको मतपत्र दाङमा फेला परेको छ।

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नसोचेको मत बदर भएको देखिएको छ। निर्वाचन कार्यालयले मतदाता शिक्षा प्रभावकारी रुपमा दिन नसक्दा र राजनीतिक दलले यसतर्फ चासो नदेखाउँदा मत बदर धेरै भयाे। मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेशसभाको चुनावमा साढे २५ हजार मत बदर भएको हो। प्रतिनिधिसभाको चुनावमा १३ हजार ७ सय १६ र प्रदेशसभातर्फको चुनावमा ११ हजार ९ सय ६९ गरी २५ हजार ६ सय ८५ मत बदर भएको छ ।

दाङमा प्रतिनिधिसभाको चुनावमा खसेको २ लाख २९ हजार २ सय ८७ मत मध्ये २ लाख १५ हजार ५ सय ७५ मत सदर र १३ हजार ७ सय १६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ। बदर मत कुल खसेको मतको ५.९८ प्रतिशत हो। प्रदेशसभातर्फ २ लाख २९ हजार २ सय ८० मत खसेकोमा २ लाख १७ हजार ३ सय ११ मत सदर भएको निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिनुभयो। प्रदेशसभातर्फ ११ हजार ९ सय ६९ मत बदर भएको हो। यो खसेको मतको ५.२२ प्रतिशत हो।

मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नहुनुलाई प्रमुख कारण मानिएको छ। निर्वाचन कार्यालयका दाङका प्रमुख विजयकुमार कार्कीले ढिलो गरी मतदाता शिक्षा गाउँमा पुग्नु, प्रभावकारी सिकाइ नहुनु, मतदाताहरु धान भित्र्याउन व्यस्त हुनु र सबै सरोकारवालाले सचेतना जगाउन नसक्नुले बढी मत बदर भएको बताए। मत बदर भएको पत्र हेर्दा ७५ प्रतिशत मत एकभन्दा धेरै चुनाव चिन्हमा संकेत गरिएको पाइएको छ।

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्