लगातार तीन पटक विजयी मन्त्री प्रभु साहलाई ५१ किलोको माला

रौतहट- निर्वाचन क्षेत्र नं ३ बाट लगातार तेस्रोपटक जित हात पार्न सफल नेकपा (माओवादी केन्द्र)का मन्त्री प्रभु साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतअन्तरले विजयी हुनुभएका उनलाई कटहरियाका बसिन्दाले ५१ किलो बराबरको माला लगाएर स्वागत गरेका हुन् ।

नेपाली काँग्रेसका उम्मेदवार सुनिलकुमार यादवलाई प्रतिनिधिसभाको निर्वाचनमा झण्डै १० हजारको फराकिलो मतअन्तरले पराजित गरी मन्त्री साह विजयी हुनुभएपछि स्थानीय वाम गठबन्धनका युवा संगठनले उनको स्वागतमा सांस्कृतिक कार्यक्रम समेत गरेका थिए।

नवनिर्वाचित सांसद एवं बिनाविभागीय मन्त्री साहले यो ऐतिहासिक जित पूरै क्षेत्र, जिल्ला र समग्र देशकै जित भएको बताए। राजनीतिक स्थिरता, स्थायी सरकार र विकासको निमित्त वाम गठबन्धनलाई मत दिएका सबै मतदाताप्रति उहाँले कृतज्ञता व्यक्त गरेका थिए ।

सो अवसरमा प्रदेशसभास सदस्यका लागि ‘क’ बाट निर्वाचित वाम गठबन्धनकै नागेन्द्र यादव, ‘ख’ बाट निर्वाचित कुन्दन कुशवाहालाई समेत स्वागत गरिएको थियो ।

मन्त्री साहले दुईपटक संसदीय समितिका सभापति, कानून मन्त्री, भूमिसुुधार मन्त्री, शहरी विकास मन्त्रीको नेतृत्व समेत सम्हालिसकेका छन्। रासस

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्