झापा- गत मंसिर २१ गतेको मतदानमा झापामा प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा ४.७४ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
त्यस्तै प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा ३. ६० प्रतिशत मत बदर भएको छ। झापाका पाँच वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मतदानमा ४ लाख १८ हजार १ सय ८१ मत खसेकोमा १८ हजार ९ सय १५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ।
प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतदानमा ४ लाख १७ हजार ६ सय २८ मत खसेकोमा १४ हजार ५ सय ४ मत बदर भएको छ।
निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेका अनुसार प्रतिनिधिसभातर्फ झापा क्षेत्र नम्बर १ मा खसेको ७३ हजार ३ सय ३ मध्ये २ हजार ६ सय ६७ मत बदर भएको हो।
क्षेत्र नम्बर २ मा खसेको ८५ हजार ६ सय ५६ मध्ये ३ हजार ६ सय ९९ मत बदर भएको छ । त्यस्तै क्षेत्र नम्बर ३ मा खसेको ८३ हजार २ सय ४४ मध्ये ४ हजार ३ सय १२ मत बदर भएको छ । क्षेत्र नम्बर ४ मा ७७ हजार १ सय ९२ मध्ये ३ हजार ५ सय ३६ मत बदर भएको छ। क्षेत्र नम्बर ५ मा ९६ हजार १९ मध्ये ४ हजार ६ सय ७४ मत बदर भएको छ ।
स्थानीय तहको निर्वाचनमा झापामा करीब ७ प्रतिशत मत बदर भएको थियो । मतपत्रमा एउटा मात्र छाप लगाउनुपर्ने प्रत्यक्ष तर्फको मतदानमा पनि यतिका मतपत्र बदर हुनुले मतदाता शिक्षामा प्रभावकारी हुन नसकेको कतिपयले बताउने गरेका छन् ।

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्