६३ प्रतिशतलाई नागरिक बडापत्र थाहा छैन

काठमाडौँ- राष्ट्रिय सतर्कता केन्द्रले संखुवासभा जिल्लामा गरेको सेवाग्राही सर्वेक्षणमा ६३ प्रतिशत जनताले नागरिक बडापत्रका विषयमा केही थाहा नभएको बताएका छन् ।

केन्द्रले हालै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयलगायतमा सेवा लिन आएकाहरुसँग गरेको सर्वेक्षणका क्रममा यस्तो परिणाम भएको प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए।

कार्यालयले नागरिक बडापत्र, सेवा प्रवाहको दस्तुर तथा समयलगायत सार्वजनिक गर्नुपर्ने सूचना प्रवाहमा कमजोरी गरेको देखिएको छ । कार्यालयको एउटा कुनामा देखाउनकै लागि मात्र नागरिक बडापत्र राख्ने, मेटिन लाग्दा पनि परिवर्तन नगर्ने तथा पढ्न नजान्नेका लागि नागरिक बडापत्रमा उल्लेख भएका विषय बुझाउने कुनै तरिका नअपनाइएको केन्द्रले जनाएको छ ।

केन्द्रले तयार पारेको लिखित प्रश्नोत्तरका आधारमा जिल्ला कार्यालयमा सेवा लिन आएका ५४ सेवाग्राहीमा गरिएको सर्वेक्षणमा तिनले सेवाको दस्तुर र सेवा प्राप्त गर्न लाग्ने समयका विषयमा केही थाहा नभएको बताए ।

यसैगरी सूचनाको हकका विषयमा ६१ प्रतिशतले थाहा नभएको जानकारी गराए । चौवन्न प्रतिशत मानिस सरकारी कार्यालयको सेवाबाट सन्तुष्ट र ४६ प्रतिशत असन्तुष्ट भएको सर्वेक्षण फाराममा लेखिएको छ । त्यस्तै १५ प्रतिशतले सेवा लिँदा कार्यालयको भौचर नकाटी अतिरिक्त रकम तिर्नुपरेको उल्लेख गरेका छन् ।

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्