समानुपातिकमा एमाले–कांग्रेस हाराहारी, माओवादी धेरै पछाडि

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको एमाले समानुपातिकमा पनि बलियो देखिएको छ।

मतगणनाको ताजा परिणामअनुसार एमाले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसभन्दा करिब एक लाख मतले अगाडि छ। एमालेले १२ लाख ९२ हजार नौ सय ५९ तथा कांग्रेसले ११ लाख ९७ हजार ६ सय १७ मत ल्याएको छ।

माओवादी केन्द्र तेस्रो स्थानमा रहे पनि एमाले र कांग्रेसभन्दा धेरै पछाडि छ। माओवादी केन्द्रले पाँच लाख १५ हजार नौ सय ४८ मत ल्याएको छ। प्रत्यक्षतर्फ भने एमाले र माओवादीले गठबन्धन गरी चुनाव लडेका थिए। कांग्रेसले पनि गठबन्धन गरी चुनाव लडेको थियो।
समानुपातिकतर्फ संघीय समाजवादी फोरम, नेपाल चौथो स्थानमा छ। संघीय समाजवादीले एक लाख चार हजार दुई सय १६ मत ल्याएको छ। विवेकशील साझा पार्टीले ७८ हजार एक सय ७९, राष्टिय प्रजातन्त्र पार्टीले ७७ हजार तीन सय २० र राष्टिय जनता पार्टीले ६२ हजार पाँच सय ७९ मत ल्याएको छ।

नयाँ शक्ति पार्टी नेपालले ४१ हजार ८ सय ३२, राष्टिय जनमोर्चाले २७ हजार पाँच सय ७१, राष्टिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले २६ हजार आठ सय ९२ र अन्य पार्टीको नाममा एक लाख चार हजार आठ सय ८३ मत झरेको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ३५ लाख ३१ हजार एक सय ४४ मत गणना भइसकेको छ।

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्