गच्छदारको क्षेत्रमा मतगणना सुरु, भगवतीद्वारा बहिष्कार

सुनसरी- निर्वाचन आयोगले एकलौटी ढंगबाट मतगणना कार्य सुरु गरेको भन्दै सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेद्वार भगवती चौधरी मतगणना स्थलबाट बाहिरिएकी छिन्।

उनले विवादास्पद बनेको सुनसरी क्षेत्र ३ को मतगणना कार्यमा मतदान अधिकृत समेत परिवर्तनको माग गर्दै निष्पक्ष ढंगबाट मतगणना हुनु पर्ने माग गर्दै बाहिरिएकी हुन्।

साथै उनले निर्वाचन आयोग समक्ष मत गन्ने क्रममा मतपेटिकामा अर्धकट्टीसहित भेटिएको मतपत्रको बिषयमा छानविन गर्न माग गरेकी छिन्। यद्यपि, हाल निर्वाचन आयोगले मतगणना कार्य जारी राखेको छ। यसअघि सोमबार मतगणनाका क्रममा विवाद भएपछि, मतगणना कार्य स्थगित भएको थियो।

यद्यपि उक्त विवादमा आयोगले २४ घण्टापछि मंगलबार दिउँसोबाट मतगणनाको कार्य सुरु गरेको थियो। तत्काल सो क्षेत्रको मतगणना सुरू गर्न आन्तरिम आदेश जारीगरेसँगै मतगणना सुरू भएको हो । बिहान ८ बजेबाट गणना कार्य सुरु गर्ने कार्यालयले जनाएपछि, एमाले उम्मेद्वारको अनुपस्थितिका कारण गणना कार्यमा ढिलाइ भएको थियो ।

निर्वाचन आयोगले मतगणना कार्यलाई सुचारु गर्न निर्देशन दिएपछि सुरु भएको हो। यसअघि, बिहान ११ बजेबाट मतगणना कार्य सुरु गर्ने क्रममा पुनः २ वटा ब्यालेट बक्सको सिल नमिलेको जनाउँदै विवाद उत्पन्न भएको थियो। त्यसको केही समयपछि गणना सुरु भएको हो। हाल सो क्षेत्रमा मतगणना सुरू भएपनि एमालेका कार्यकर्ताहरूको उपस्थिति शून्य छ।

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्