टीकापुरमा सद्भाव कायम राख्न मेरो जित: रेशम

नौ जनाको ज्यान जाने गरी दुई वर्षअघि भएकोे टिकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई टिकापुरकै जनताले भारी मतले चुनाव जिताएर हिरो बनाइदिएका छन्।
अप्रत्यासित रुपमा अत्यधिक मतका साथ चुनाव जितेपछि मोस्ट वान्टेड रेशमको चर्चा जती चुलिएको छ, त्योभन्दा बढी अब के हुन्छ भन्ने कौतुहल बढेको छ। चुनाव जितेका रेशम निर्वाचित भएको प्रमाणपत्र बुझ्न आएका छैनन्। उनका समर्थकहरुलाई निर्वाचन कार्यालयले प्रमाणपत्र दिन मानेको छैन।
रेशमको मतगणना भएको सदरमुकामस्थित धनगढीस्थित जिल्ला कृषि विकास कार्यालय बाहिर उनका समर्थकहरु अबिरजात्रा गरिरहेका छन्। आफ्ना नेता रेशम बिजयी भएको प्रमाणपत्र बुझेर बिजय जुलुस मनाउने उनीहरुको तयारी छ। अत्यधिक मतले चुनाव जितेका रेशमले फेसबुकमार्फत ‘जनता जनार्दन’लाई सलाम भनेका छन्।
अप्रत्यासित रुपमा रेशमको विजयलाई लिएर अहिले जिल्लामा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। धेरैले टिकापुर घटनापछिको थारु ‘सेन्टिमेन्ट’को फाइदा रेशमलाई पुगेको बताइरहेका छन्। रेशमसँग पराजित एमालेकी गरिमा साहले टिकापुरमा खल्बलिएको सामाजिक सद्भावका कारण यस्तो नतिजा आएको पत्रकार सम्मेलनमा बताएकी छिन्।
सामाजिक सद्भाव बिग्रेका कारण थारु समुदायको एकलौटी भोट रेशमलाई गएको उनको तर्क छ । तर फरार रहेका रेशम भने यो स्वीकार्दैनन्। उनी टिकापुरका पहाडिया समुदायको भोट पनि आफूलाई आएको दाबी गर्छन्। सञ्चार माध्यममा टेलिफोन अन्तर्वार्ता दिएका उनले टिकापुरमा सद्भाव कायम गराउन थारु–पहाडी सबै जनताले आफूलाई भोट दिएर जिताएको बताए।
रेशमले टिकापुरमा आफूले गरेको सामाजिक कार्य र जनताको सेवाको परिणाम अहिले आफ्नो विजय भएको बताए। उनले आफूले विगतमा टिकापुरका कमैयालाई चामल बाँडेको स्मरण गराए। टिकापुर घटना राजनीतिक भएको दाबी गर्दै रेशमले राज्यले थारुहरुमाथि हत्याको मुद्दा लगाएर घोर अन्नाय गरेको आरोप उनले लगाए।
२०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा टिकापुरमा नेपाल प्रहरीका एसएसी लक्ष्मण न्यौपाने सहित ८ जना प्रहरी र एक अढाइ वर्षीय नाबालकको ज्यान गएको थियो। घटनाका मुख्य योजनाकार रेशम रहेको दाबी गर्दै प्रहरीले उनीमाथि कर्तव्य ज्यानको मुद्दा दायर गरेको छ। टिकापुर घटनालगत्तै रेशम फरार भएका थिए।
कैलालीका एसपी बिनोद घिमिरेले रेशमले चुनाव जिते पनि उनलाई पक्राउ नगर्ने कुरा मान्न नसकिने बताए। उनले संसद चलेका बेला बेग्लै प्राबधान रहे पनि तत्काल उनी फेला परे पक्राउ गर्ने बताए। तर मानवअधिकारकर्मीहरुले भने यस घटनालाई गम्भीरतापूर्वक लिएर शान्ति र सौहाद्रको वातावरण बनाउन आग्रह गरेका छन्।
इन्सेकका क्षेत्रीय संयोजक खड्गराज जोशीले जनताले रेशमलाई नेता स्वीकारेका अवस्थामा उनलाई पक्राउ गरेर राज्यले साम्प्रदायिक दंगा निम्त्याउन नहने बरु मध्यमार्गी बाटो खोज्नुपर्ने बताए। अप्रिय घटना हुन नदिन रेशम पनि सचेत हुन जरुरी रहेको उनको भनाइ छ।
मानवअधिकारकर्मी जोशीले रेशमको मनोनयनमै ख्याल पुर्याउनुपर्ने अवस्थामा अब विजयी भएर आइसकेपछि परिस्थिति भिन्नै हुने बताए।