प्रदेश प्रमुखमा कटवाल, माथेमा, अनुराधालगायतको नाम

काठमाडौँ- निर्वाचन परिणाम राजपत्रमा प्रकाशित भएलगत्तै प्रान्तीय संसद र सरकार गठन संवैधानिक अनिवार्यता बन्ने हुँदा शेरबहादुर देउवाकै सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरिरहेको छ।

चुनावमा नेपाली कांग्रेसको पराजयसँगै बाम गठबन्धनले भावी सत्ताको बागडोर लिने स्पष्ट हुँदाहुँदै पनि प्रान्तमा विधायिका भेला, शपथग्रहण आदि संवैधानिक औपचारिकता पूरा गर्न प्रदेश प्रमुख तत्काल गठन गर्नु आवश्यक रहेकाले त्यसको तयारीमा देउवा लागेका हुन्।

‘सम्भवतः यी नियुक्तिहरु बिहीबार हुनेछन्,’ प्रधानमन्त्री कार्यालय स्रोतले देशसञ्चारसँग बतायो। एमाले महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारले महत्वपूर्ण निर्णय गरेमा त्यसको स्वामित्व भावी सरकारले नलिने सार्वजनिक घोषणा गरे पनि बामगठबन्धनका नेताहरुले औपचारिक रुपमा प्रधानमन्त्रीलाई कुनै रुपमा सचेत गराएका छैनन् यसबारे।

‘यो प्रान्तीय विधायिकाहरुको अधिवेशन र शपथको व्यवस्था सुनिश्चित गर्नु वर्तमान सरकारकै संवैधानिक दायित्व भएकाले प्रधानमन्त्री यो निर्णय लिनमा दृढ हुनुहुन्छ,’ स्रोतले भन्यो।

बदलिँदो राजनीतिक परिस्थितिमा दलसँग आबद्ध राजनीतिक व्यक्तित्वहरुलाई उक्त पदमा नियुक्त नगरी समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुको नियुक्ति गर्न उनीहरुसँग परामर्श गरिरहेको पनि स्रोतले जानकारी दियो।

शिक्षाविद् तथा पूर्व राजदूत केदारभक्त माथेमा, पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवाल, सर्वोच्चका अवकाशप्राप्त न्यायाधीश नगिना सिंह तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला आदिको नाम विचाराधीन रहेको बुझिएको छ।

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्