सिटौलालाई हराएका लिङ्देनले कुन बाटो समात्लान्?

झापा ३ बाट निर्वाचित राजेन्द्र लिङ्देन।

बिर्तामोड- झापा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले अब कुन बाटो समात्लान्? राष्ट्रिय पार्टी हुन राप्रपाले संविधानमा व्यवस्था गरिए बमोजिम समानुपातिक निर्वाचन प्रणालीमा तीन प्रतिशत मत आउने सम्भावना न्यून भएका बेला लिङ्देनको अबको राजनीतिक बाटो चासोको विषय बन्न पुगेको छ।

२०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग हार व्यहोरेका लिङ्देनले अहिले बाम गठबन्धनको समर्थनमा उनै सिटौलालाई हराए। राप्रपाका अध्यक्ष कमल थापाले समेत पराजय भोगेका बेला चन्द्रगढीको मत गणनास्थलमा भेटिएका लिङ्देनसँग ‘अब राप्रपाको अल इन अल भइहाल्नु भयो नि’ भन्दा त्यो कुरा आफूले सपनामा पनि नसोचेको बताएका थिए।

राजनीतिक आस्थाका आधारमा  ‘कदेखि ज्ञ’सम्मै कतै नमिल्ने बाम गठबन्धनको सिँढी चढेर उनले संघीय संसद भवनसम्मको यात्रा तय गरेका छन्। सार्वजनिक मन्तव्यहरुमा लिङ्देनले ‘बाम गठबन्धन’लाई कहिल्यै धोका दिन्न भन्ने अभिव्यक्तिले पनि बामपन्थी दलहरुसँग उनको झुकाव बढेर गएको स्पष्ट हुन जान्छ।

अर्कोतर्फ उनी महामन्त्री भएको दल राप्रपा अहिले जीवन मरणको दोसाँधमा रहेका कारण त्यसलाई जोगाउन धेरै चुनौती रहेको उनले अभिव्यक्ति दिएका छन्। देशसञ्चारसँग कुरा गर्दै उनले भने, ‘यस्तो बेलामा म निर्वाचित भएको छु कि पार्टीका अध्यक्षसमेत पराजित हुनुभएको छ। पार्टीलाई कसरी जीवन दिने भन्ने पनि चुनौती छ।’

राजनीतिमा चासो राख्ने केही सर्वसाधारणले भन्न थालेका छन्, ‘अब राजेन्द्र लिङ्देन आफूलाई समर्थन गरेर निर्वाचित गराउन सहयोग गरेको कुनै बामपन्थी दलमा प्रवेश गर्नेछन्।’ तर उनले यो कुरालाई ठाडै अस्वीकार गरे। उनले भने, ‘मैले कुनै हालतमा यो पालि झापा क्षेत्र नं ३ बाट जित्नै पर्नेथियो। त्यही भएर पार्टीले कांग्रेससँग गठबन्धन गर्यो। तर कृष्णप्रसाद सिटौलाले आफैं उम्मेदवारी दिने भएपछि बाध्य भएर बामपन्थी दलहरुको समर्थन लिएको हुँ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राजेन्द्र लिङ्देनको जिम्मा म लिन्छुु’ भनेर पटकपटक भन्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिन थालिएको छ। ओलीले सोमबार पनि भद्रपुरमा सम्बोधनका क्रममा भनेका थिए, ‘लिङ्देनको जिम्मा म लिन्छु ।’ लिङ्देनले आफू बामपन्थी दलमै समाहित हुने कुरा त गरेका छैनन् तर उनले सर्वसाधारण सामु भन्ने गरेका छन्, ‘मलाई जुन गठबन्धनले यो स्थानसम्म ल्यायो त्यो गठबन्धनको साथमा रहेर जनताको सेवा गर्नेछु ।’

अब के गर्नुहुन्छ? लिङ्देनले भने, ‘राष्ट्रियताको सवाल, विकास र समृद्धिको विषयमा बाम गठबन्धनसँग कुरा मिलेको छ। यसै गठबन्धनभित्र रहेर जनताको काम गर्ने हो।’ राजसंस्थाको विषयमा पक्षपोषण गर्दै आएको पार्टीका निर्वाचित सदस्य लिङ्देनले त्यस विषयमा भने केही बताएनन्। तर राप्रपामै रहेर बाम गठबन्धनसँग कुरा मिलाएर जाने राजनीतिक बाटो त्यति सहज भने छैन। समानुपातिक प्रणालीबाट पुग्ने मत नल्याए राप्रपाको एक्लो निर्वाचित प्रतिनिधि सभा सदस्य लिङ्देनले राप्रपामै रहेर संसदमा प्रतिनिधित्व गर्ने कुरा कतिसम्म टिक्ला?

 

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्