फरार चौधरीका वारेसलाई प्रमाणपत्र नदिइने

काठमाडौं- निर्वाचन आयोगले कैलाली-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका  फरार अभियुक्त रेशम चौधरीका वारेसलाई निर्वाचित प्रमाणपत्र नदिने निर्णय गरेको छ। प्रहरीले गिरफ्तार गर्ने आशंकामा चौधरी आफैँ प्रमाणपत्र लिन आउन सकेका छैनन्।

आयोगले  सरकारले फरार सूचीमा रहेका चौधरीले राज्यको कानूनलाई सहयोग नगरेको कारण देखाई उनको वारेसलाई प्रमाणपत्र नदिने निर्णय गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रमुख निर्वाचन आयुक्त सहितको बैठकले चौधरी आफैं आए प्रमाणपत्र दिने तर वारेसलाई नदिने निर्णय गरेको  छ । आयोगले चौधरी आफैं उपस्थित नभए निर्वाचन आयोगमा प्रमाणपत्र पठाउन जिल्ला निर्वाचन कार्यालय कैलालीलाई निर्देशन दिएको उनले जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालय कैलालीले प्रमाणपत्र के गर्ने भन्ने बिषयमा सोधेको रायको जवाफ दिदैं निर्वाचन आयोगले निर्णय गरेको प्रवक्ता ढकालले बताए।

यसअघि निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका वारेस गणेश पन्तलाई निर्वाचित भएको प्रमाणपत्र दिएको थियो।

निर्वाचनसम्वन्धी कानुनमा मुद्दा खेपिरहेकाको वारेसलाई के गर्ने भन्ने स्पष्ट व्यवस्था छैन।

मंसिर २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्