कांग्रेस बिरामी छ, उपचार गर्नुपर्छ: विश्वप्रकाश

विश्वप्रकाश शर्मा।

नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग २ हजार ८ सय मतले पराजित भए। कांग्रेसका अन्य नेताहरु हजारौं मतान्तरले पराजित हुँदा उनी कम मतले कार्कीसँग पराजित भए। तर, उनी कति पनि विचलित छैनन्। भन्दैछन्, ‘मलाई कांग्रेस बनाउने जिम्मा दिनुभयो, म बनाउने अभियानमा लाग्छु।’ प्रस्तुत छः झापा सहकर्मी उमाकान्त खनालले गरेको कुराकानीको सारसंक्षेप।

तपाईंको शब्दमा भन्ने हो भने झापा क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा तपाईं उपविजेता बन्नु भयो। किन हार्नु भयो चुनाव ?

०७० सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार स्वयंको कारण भन्ने गरियो। यस पटकको मूल कारण दुई वटा छन्। एउटा कारण माओवादी सशस्त्र संघर्षलाई ‘सेफल्याण्डिङ’ गराउने नेपाली कांग्रेसको भूमिकालाई जनतासामू प्रस्ट रुपमा राख्नु नसक्नु हो। कांग्रेसले गरेका राम्रा कुराहरुलाई स्थापित गर्न सकेनौं। शान्ति स्थापनामा हामीले गरेका अगुवाइ, संविधान लेखनका बेला कांग्रेसले खेलेको भूमिका, कुनै हिंसाका घटना नभइ शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुमा कांग्रेसले खेलेको भूमिकाका विषयमा हामीले जनतालाई बुझाउन हामीले सकेनौं। अर्को कारण भनेको निर्वाचनको मुखमा बामपन्थी पार्टीहरु एकजुट हुनु अनि गणितीय हिसाबमा पनि उनीहरुभन्दा हामी कमजोर देखियौं।

कसको दोष हो यो?

यसमा हामी सबै जिम्मेवार छौं। पार्टी नेतृत्व तथा उम्मेदवारको पनि दोष छ। पार्टीका सभापति तथा चुनाव परिचालन समितिका प्रमुख रामचन्द्र पौडेलजीको पनि दोष छ। एकजना मात्र दोषी छैनन्। हाम्रो परम्परागत शैली असक्षम भएको छ। यस विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। नेपाली कांग्रेस चुनावमा दह्रो नै भए पनि धेरै दल मिलेर एक ठाउँमा आएपछि यो परिणाम आउने नै थियो।

नेता कृष्णप्रसाद सिटौलाको उम्मेदवारीले तपाईंलाई असर गरेको हो?

पार्टीका साथीहरुले सिटौलाजी उम्मेदवारी नभइदिएको भए झापा १ मा राप्रपाको जति मत थियो त्यति हामीलाई आउँथ्यो भन्छन्। तर मेरो अर्को विश्लेषण पनि छ। पार्टीको एउटा स्थापित नेता झापामा खडा नहुँदा त्यस्ले पार्ने मनोवैज्ञानिक असर पर्थ्यो कि! त्यतातिर पनि सोच्नुपर्छ। उहाँको उम्मेदवारीले कांग्रेसका उम्मेदवारहरुलाई आत्मबल बढेको थियो। उहाँको उम्मेदवारीले मैले हारेको हो भन्ने कुरामा म सहमत छैन। कतिपय कुराहरुमा सिटौलाजी र म फरक छौं। तर चुनावमा उहाँका कारणले म हारेको होइन। विश्वप्रकाशलाई हराउन सिटौला लाग्नु भो भनेर कसैले भन्छ भने उसले कुरा नबुझेको ठहर्छ।

पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्छ भनेर धेरै नेताहरुले भन्ने थालेका छन्। तपाईंको धारणा के हो?

एउटा अस्पतालमा लगेको विरामीलाई उसको अवस्था हेरेर उपचार गरिनुपर्छ। औषधिले हुन्छ कि, इन्जेक्सन दिनुपर्छ कि, शल्यक्रिया गर्नुपर्छ कि भन्ने कुरा थाहा पाउन जरुरी छ। त्यसैले नेपाली कांग्रेसको बिरामी हालतको पहिचान गर्नुपर्छ। त्यसका लागि पहिला केन्द्रीय समितिको बैठक डाक्न जरुरी छ। बिरामीलाई लगेर इमरजेन्सीमा राखेर डाक्टरहरु चाहिँ घाम ताप्दै बदाम छोडाउँदै खाँदै गरेजस्तो पाराले अब पार्टीको पनि त्यही विरामीको हालत जस्तो हुन्छ। त्यसैले म भन्छु अब गम्भीर भएर छलफल गरौं। समस्याको पहिचान गरौं। पण्डित्याइँ छाँटेर मात्र पार्टी बन्दैन।

अब पार्टी बनाउने तपाईंको भूमिका के हो?

गाउँ, नगर, जिल्ला समितिका साथीहरु बदलिनुपर्छ। हामी पहिलाको भन्दा सुदृढ कांग्रेस बनाउनुपर्छ भनेर लाग्नुपर्छ। त्यो ‘कमिट्मेन्ट’ चाहियो पहिला। हामी गर्छौं भनेर लाग्यौं भने बनाउँछौं। धेरै ठूला परिवर्तन कांग्रेसको अगुवाइमा भएका छन्। त्यसैले संसदमा गगन थापाहरुले आवाज बुलन्द बनाउनेछन्। उनीहरु जिम्मा त्यो हो भने म जस्ता उपविजेताहरुले मेचीदेखि महाकालीसम्म सुदृढ कांग्रेस बनाउने जिम्मा पाएका छौं। अब हाम्रो भूमिका त्यही हुनेछ।

मंसिर २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्