प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको पहिलो हुने निर्वाचित हुने प्रणाली अनुसारको निर्वाचन परिणाम निष्कर्षतिर पुग्दा महिला प्रतिनिधिको उपस्थिति भने दयनीय देखिएको छ।

प्रतिनिधिसभातर्फ अहिलेसम्म कुल निर्वाचित १ सय ६५ मध्ये केवल छ जनामात्र महिला प्रतिनिधि निर्वाचित भएका छन्। उक्त संख्या प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट छनौट हुने प्रतिनिधिको केवल तीन दशमलव ६३ प्रतिशत मात्र हो।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिला उम्मेदवार नै कम उठाइएका थिए। सबै पार्टी र स्वतन्त्र गरी कुल एक हजार नौ सय ४४ उम्मेदवार मध्ये एक सय ४६ मात्र महिला थिए। उक्त संख्या कुल उम्मेदवारको सात दशमलव पाँच प्रतिशत मात्र हो। प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने महिलामध्ये सबैभन्दा धेरै नेकपा (माओवादी केन्द्र) का छन्। नेपाली काँग्रेसबाट भने एकजना पनि महिला उम्मेदवार निर्वाचित भएनन्।

प्रतिनिधिसभा लागि नेकपा एमालेको तर्फबाट पवित्रा निरौला (खरेल) मात्र निर्वाचित महिला सदस्य हुन्। उनी झापा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी हुन्। माओवादी केन्द्रका तर्फबाट बीना मगर, पम्फा भुसाल र कमला रोका प्रदेशसभाका लागि निर्वाचित भएका छन्। बीना कञ्चनपूर क्षेत्र नम्बर १, पम्फा ललितपुर क्षेत्रनम्बर ३ र कमला रुकुम पूर्व क्षेत्रनम्बर १ बाट निर्वाचित भएका हुन्। प्युठान क्षेत्रनम्बर १ बाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल निर्वाचित भएकी छन्। एमालेकी पद्माकुमारी अर्यालले स्याङ्जा क्षेत्रनम्बर २ बाट जितेकी छन्।

त्यस्तै प्रदेश सभामा कुल निर्वाचित तीन सय ३० मध्ये १७ जना मात्र महिला छन्। यो संख्या कुल निर्वाचित प्रदेशसभा सदस्यको पाँच प्रतिशत मात्र हो। प्रदेशसभामा कुल तीन हजार दुइ सय ३८ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये दुई सय ४० जना मात्र महिला उम्मेदवार थिए। जुन कुल उम्मेदवार संख्याको सात प्रतिशत मात्र हो।

एमालेका तर्फबाट उदयपूर २ (ख) मा कला घले, काठमाडौँ १० (ख)मा रमा आले मगर, काठमाडौँ ८ (ख) मा अष्टलक्ष्मी शाक्य बोहोरा, महोत्तरी १ (क) मा शारदा देवी थापा, इलाम १ (क) मा खिनु लिवाङ लिम्बू, म्यग्दी १ (ख) मा नरदेवी पुन मगर, सर्लाही १ (ख) मा बेची लुङ्गेली, बाँके १(ख) मा आरती पौडेल प्रदेशसभाका लागि निर्वाचित भएका छन्। त्यस्तै माओवादी केन्द्रका तर्फबाट बझाङ १ (ख)मा देवकी मल्ल थापा, ललितपूर १ (क) मा लालकुमारी पुन, तनहुँ २ (क) मा आशा कोइराला, नुवाकोट १ (क) मा राधिका तामाङ, बारा ३ (क) मा ज्वालाकुमारी साह, मकवानपुर २ (क) मा कुमारी मुक्तान, बाँके १ (क)मा कृष्णा केसी निर्वाचित भएका छन् । राष्ट्रिय जनता पार्टीका तर्फाट महोत्तरी ३ (ख) मा रानी कुमारी तिवारी र २ (ख) मा सुरिता कुमारी शाह निर्वाचित भएका छन्।
प्रतिनिधीसभाको गठनसम्बन्धी धारा ८४ को उपधारा ८ अनुसार कुनै दलबाट निर्वाचित प्रतिनिधीमध्ये पहिलो हुने निर्वाचित हुने प्रणालीबाट एक तिहाइ सदस्य महिला नभएमा समानुपातिक निर्वाचनबाट पु¥याउनुपर्छ।

मंसिर २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्