पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर
पर्सा-मतदाता शिक्षाको कमीका कारण पर्सामा १० प्रतिशत भन्दा बढी मत बदर भएको छ ।
निर्वाचन आयोग तथा राजनीतिक दलले मतदातालाई मतदानबारे जानकारी दिन नसकेका कारण पर्साबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ १० दशमलव ०९ प्रतिशत मत बदर भएको हो ।
चार निर्वाचन क्षेत्र रहेको पर्सामा २ लाख ६ हजार ४७२ मत खसेको थियो । तीमध्ये २० हजार ८३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राजनीतिक दलका नेता कार्यकर्ताले मतदातालाई मतदान बारे जानकारी नगराएको र तीनवटा मत पत्रका कारण मतदाता अलमलमा परेकाले बदर मतको संख्या बढी भएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए।
एउटै मतपत्रमा चारवटासम्म स्वस्तिक छाप लगाएको मतपत्र मतगणनाका क्रममा भेटिनुले पनि मतदाता शिक्षाको कमि देखिएको छ, उनले भने, ‘प्रत्यक्षको मतपत्र समानुपातिकको मतपेटिकाबाट पनि फेला परेको अवस्था छ ।
पर्सामा मतदाता शिक्षा कार्यक्रमका लागि रु ३६ लाख खर्च गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए। उनले पर्साको चार निर्वाचन क्षेत्रका लागि ३५१ जना मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षित गर्दा ३५ लाख र सञ्चार माध्यमका लागि एक लाख खर्च गरिएको बताए।
कूल ७१ दशमलव ४२ प्रतिशत मतदान भएको पर्सामा राजनीतिक दल तथा निर्वाचन कार्यालयको कमजोरीकै कारण २० हजार भन्दा बढी मत सदुपयोग हुन सकेको छैन् ।