६६ लाख मत गणना : राप्रपा र विवेकशील हाराहारी
काठमाडौं- प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब ६६ लाख मत गणना हुँदा नेकपा एमालेले अग्रता कायम राखेको छ। एमालेले २२ लाख ८६ हजार तीन सय ५७ मत ल्याएको छ। कांग्रेसले २१ लाख ९८ हजार आठ सय २७ मत ल्याएको छ। माओवादी केन्द्रले ९ लाख पाँच हजार ६ सय ४६ मत ल्याएको छ।
संघीय समाजवादी फोरम नेपालले तीन लाख चार हजार दुई सय ४७, राष्ट्रिय जनता पार्टीले दुई लाख ४४ हजार चार सय नौ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख ५१ हजार तीन सय ९७ र विवेकशील साझा पार्टीले एक लाख ४८ हजार पाँच सय २६ मत ल्याएको छ।
नयाँ शक्ति पार्टी नेपालले ६३ हजार दुई सय ७९, राप्रपा (प्रजातान्त्रिक)ले ३८ हजार तीन सय ४९ र अन्य पार्टीको नाममा दुई लाख २९ हजार एक सय ५२ मत ल्याएको छ । समानुपातिकतर्फ झर्ने कुल मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेमात्र त्यस दलले सिट पाउँछ।
यसैगरी प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने र समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने पार्टीले राष्टिय पार्टीको मान्यता पाउनेछन्। गत निर्वाचनमा देशभर झरेको मतको तीन प्रतिशत मत करिब तीन लाख हुन आउँछ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९ पार्टीले कम्तीमा एक सिट ल्याए पनि नेमकिपा, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत ल्याउने सम्भावनाको नजिक छैनन्।
नयाँ शक्तिले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सिट ल्याएको थियो। पार्टी संयोजक बाबुराम भट्टराईले मात्र जिते। उनको पार्टी राष्ट्रिय दल बन्न नसके संसदभित्र उनी पार्टीका एक्ला प्रतिनिधि बन्नेछन्।
यता विवेकशील साझा पार्टीले प्रत्यक्षतर्फ एक सिट पनि नजिते पनि समानुपातिकतर्फ कम्तिमा तीन प्रतिशत मत ल्याउने सम्भावना देखिएको छ। अब प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब ४० लाख मत गणना गर्न बाँकी छ।