के विवेकशीलले तीन प्रतिशत मत पाउला?
काठमाडौं- राष्ट्रिय पार्टीको हैसियतलाई यसपल्टको निर्वाचनमा घोषित लक्ष्य बनाएर चुनावी मैदानमा उत्रिएको विवेकशील साझा पार्टी त्यसमा असफल भएपनि समानुपातिक मतबाट प्रतिनिधि सभामा सांकेतिक उपस्थिति जनाउने उसको आशा कायमै छ।
प्रत्यक्षतर्फ एक स्थान पनि हासिल गर्न नसकेको उक्त पार्टीले समानुपातिकतर्फ करिब ६६ लाख मत गणना हुँदा एक लाख ४८ हजार पाँच सय २६ मत ल्याएको छ। समानुपातिकतर्फ अब करिब ४० लाख मत गन्न बाँकी छ।
समानुपातिकतर्फ देशभर झर्ने कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउने पार्टीले मात्र सिट पाउँछ। कम्तीमा तीन लाख मत ल्याउन सक्ने पार्टीले सिट पाउने सम्भावना छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ सर्वाधिक मत पाउने पार्टीको सूचीमा विवेकशील साझा अहिले सातौं स्थानमा छ।